काठमाडौं । एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए। जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन्। गोरखा पुगे। दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि फरक निर्णय गर्यो। आफ्नो पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको टिकट फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवारलाई समर्थन जनायो। उक्त क्षेत्रमा कांग्रेसका बागी दिनेश कोइराला एमालेको समर्थनमा चुनाव लड्दै छन्। त्यस क्षेत्रमा माओवादी केन्द्रबाट डा। भोजराज अधिकारी सत्ता गठबन्धनका उम्मेदवार बनेका छन।
एमालेले रुपन्देहीमा घनश्याम भुसाललाई टिकट दिएन। सत्ता गठबन्धनले एमालेविरुद्ध उभिए ‘समर्थन’ जनाउने प्रतिबद्धता भुसाललाई जनायो। गठबन्धनकै बलमा भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरे। रुपन्देही ३ मा उठ्न खोजेका भुसालको ठाउँमा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन जनायो।
चुनावी राजनीति यस्तो भयो कि एमाले छोडेका भुसाललाई गठबन्धनको समर्थन। राप्रपाका बोहरा एमालेको समर्थनमा उम्मेदवार। प्रतिशोधको राजनीतिका कारण एकले अर्को दलको उम्मेदवार सघाउने र अर्को दलको समर्थनमा एकाएक उम्मेदवार बन्ने थुपै्र दृश्य देखिएका छन्। एमालेसँग प्रतिशोध साँध्न माओवादीले आफ्नो भागबाट पाँच सिट अन्य दललाई दिएको नेताहरू बताउँछन्। काठमाडौं ७ मा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट मानुषी यमी भट्टराई र सर्लाही २ मा महिन्द्र राय यादव पनि माओवादीकै भागबाट उम्मेदवार बनेका छन्।
गठबन्धनमा ४८ सिट पाएको माओवादीले सोलुखुम्बुमा कांग्रेसलाई नै छोडेको नेताहरू बताउँछन्। कांग्रेसले यसपटक अमरेशकुमार सिंहलाई टिकट दिएन। त्यसबाट आक्रोशित सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा सिंह उही क्षेत्रबाट विजयी भएका थिए। त्यहाँ सत्तारुढ गठबन्धनबाट नागेन्द्रकुमार रायको उम्मेदवारी छ।
टिकट नपाएपछि माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीमा असहमतिपत्र बुझाएका छन्। पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन्। दुईपटक सिन्धुलीबाट चुनाव जितेका गजुरेल यसपटक पनि सिन्धुली–२ मा उम्मेदवार बन्न चाहन्थे। तर, माओवादीले जिल्ला इन्चार्ज लेखनाथ दाहाल९राजन०लाई चुनावी मैदानमा उतारेको छ। यसले गर्दा उपमहासचिव गजुरेल रुष्ट भएका छन्।
बाँकेको क्षेत्र ३ क मा एकीकृत समाजवादीबाट पुराना नेता दलबहादुर सुनारले टिकट पाएनन्। लुम्बिनी प्रदेशमा नै प्रदेशसभामा एकीकृत समाजवादीका उम्मेदवार निल भए। यसकै आक्रोशमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्जसमेत रहेका सुनारले बाँके क्षेत्र नम्बर ३ क मा स्वतन्त्र उम्मेदवारी दिए। उक्त क्षेत्रमा माओवादी केन्द्रका आफ्नै उम्मेदवार छन्, आईपी खरेल। जो अघिल्लो निर्वाचनमा पनि उक्त प्रदेशसभा क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए। तर, पुन स् आईपी खरेलको उम्मेदवारी स्थानीय स्तरमा माओवादी केन्द्रमा नै स्वीकार्य भएन। खजुरा र बैजनाथको माओवादीको कमिटीले नै उम्मेदवारीमा असन्तुष्टि व्यक्त गर्दै राजीनामा दियो। प्रदेश सभाका स्वतन्त्र उम्मेदवार सुनार नै आफूले टिकट नपाएपछि माओवादीमा प्रवेश गरेका छन्।
एमाले नेता भीम रावल टिकटमा भेदभाव हुँदा विद्रोह हुनु स्वाभाविक भएका टिप्पणी गर्छन्। रावल अछाम २ बाट सिफारिस भएका थिए तर टिकट पाएनन्। उनले पार्टी नछोडे पनि एमालेका सबै उम्मेदवारलाई भोट नमाग्ने बताउँदै आएका छन्।
राजनीतिशास्त्री प्रा।डा। जनार्दन शर्मा एउटा पार्टीको प्रतिशोधमा विचार, आस्था, सिद्धान्त नमिल्नेलाई समर्थन गर्नु राजनीतिभित्रको विकृति भएको बताउँछन्। यो विकृति वामपन्थीमा धेरै रहेको शर्माको ठम्याइ छ।
‘घनश्याम भुसाल, प्रभु साहलगायतले पहिलेदेखि नै साठगाँठ गरेको हुन सक्ने देखिन्छ। एमालेलाई नोक्सान गर्ने नाममा माधवकुमार नेपाल त १९ सिटमा नै खुम्चिनुभयो’, शर्मा भन्छन्।
अवसरका लागि जे पनि गर्ने प्रवृत्ति राजनीतिमा बढेको उनी बताउँछन्। ‘राजनीतिक दल, तिनका नेतामा न अनुशासन न नैतिकता न सिद्धान्त नै रह्यो। उनीहरूमा अवसरवाद मात्रै देखियो। टिकट नदिनेबित्तिकै पार्टी छोडेर अर्कोबाट उम्मेदवार हुनु चरम अवसरवाद हो’, उनी भन्छन्। पछिल्लो समयमा जनप्रतिनिधि नभइ सरकारको प्रतिनिधिमात्रै चुनिन थालेको उनको टिप्पणी छ। विधि, पद्धतिभन्दा पनि उम्मेदवारी छनोट पनि मनलाग्दी भएकाले यस्ता परिणाम आएको उनको भनाइ छ।
नागरिक अभियन्ता एवम् पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी प्रतिशोधमा उम्मेदवार बनाउने क्रियाकलाप नितान्त स्वार्थी र व्यक्तिवादी भएको बताउँछन्। ‘अर्को दलाई होच्याउन, कमजोर गर्न छोटो समयका लागि यस्ता क्रियाकलापले फाइदा होला। तर, दीर्घकालीन रूपमा देश र जनतादेखि व्यक्ति यस्ता व्यक्ति पार्टीलाई पनि घाटा नै हुन्छ,’ उनी भन्छन्। यसरी टिकट नपाएर पार्टी छोडे नैतिकतामाथि नै प्रश्न गर्नुपर्ने उनी बताउँछन्।
‘यस्तालाई कसरी विश्वास गर्ने रु दलका त सिद्धान्त, नीति आफैं नै हुन्छ। तर, स्वार्थ पूरा नभएर छोडेर जाने भनेको नैतिकतामा नै प्रश्न हुन्छ नि १’, उनी भन्छन्, ‘यस्ता कुरा विल्कुलै राम्रो होइन।’ त्यसैले पार्टीभित्रै बसेर संघर्ष गर्नु उपयुक्त हुने उनको भनाइ छ। अन्नपूर्णपोष्टबाट
Add Comment