टुकुचा माथि बनेको भवन भत्काउन सक्लान् बालेनले ? कत्तिको सम्भव छ भवन भत्काउन ?

काठमाडौँ । स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयरका रुपमा निर्वाचित भएर आएका बालेन्द्र साहले काठमाडौंको सभ्यता र संस्कृतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । हरेक कार्यक्रममा बालेनको एउटै अभिव्यक्ति आउने गर्दछ । काठमाडौको चिनारी यहाँका संस्कृति सम्पदा र सभ्यता हुन् । बालेनको भनाईमा यी सम्भता बनेको नदी, नाला, परम्परागत रुपमा रहेको मठमन्दिर अनि जात्रा पर्व हुन् ।

यसलाई जोगाउन सके मात्र काठमाडौंको पहिचान रहिरहने छ । यसै सन्दर्भमा बालेनले जयनेपाल सिनेमा हल भएर बगेको टुकुचालाई पुरानै रुपमा फर्काउने भन्दै डोजर लगाए । त्यसका विरुद्ध अदालतमा मुद्दा पर्यो । तर उच्च अदालतले टुकुचा ढल नभएर खोला नै भएको आदेश दिएको छ । काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेपछि अव खोला माथिको भवन के हुन्छ भन्ने प्रश्न उब्जन थालेको छ । संघीय संरचना अनुरुप यस्ता नदी नाला जोगाउने काम स्थानीय सरकारको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि बनेका भवन हटाउने सोच बनाएको छ । तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम महानगरले गर्ने मेयर बालेनको भनाई छ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले खोलाको टुकुचा खोला अर्थात् इच्छु मति नदिको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व भएको र यो प्रमाणित न्यायलयबाटै भएको भन्दै तत्काल खोला अधिग्रहण गरिएका संरचना हटाउन सुरु गर्ने सामाजिक सञ्जाल मार्फत उद्घोष गरेका छन् ।

बालेनले सामाजिक सञ्जाल फेसवुकमा भनेका छन् , केहि दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ ।

सो फैसलाले टुकुचा खोला अर्थात् इच्छु मति नदिका प्राकृतिक अधिकार पुनः स्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ ।

तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ ।

खोला छोप्ने कार्य वर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् । बालेन निर्वाचित भएर आएदेखि नै परिवर्तन गर्ने उद्घोष गर्दै आएका छन् । टुकुचा खोलामाथि बनेको संरचना हटाउन काठमाडौं महानगरपालिकाले २०७५ मा पनि निर्णय गरेको थियो । तात्कालिन मेयर विद्यासुन्दर शाक्यले डोजर लिए भत्काउन गएपनि राजनीतिक दवावका कारण भत्काउन सकेका थिएनन् ।

तर अहिले बालेनलाई राजनीतिक दवावको कुनै पर्वाह छ्रैन । उच्च अदालतले टुकुचा खोला भएको प्रमाणित गरिदिएको छ । त्यसो भए बालेनले भत्काउन सक्छन् त टुकुचा माथिको भवन । अनि टुकुचामाथि बनेको भवनको क्षतिपूर्ति के हुन्छ ? भवन निर्माण स्वीकृत दिने कर्मचारीलाई के हुन्छ ? धेरै प्रश्नका बाबजुत टुकुचा खोलाले न्याय पाउने हो कि भन्ने संकेत बालेनले गरेका छन् ।

बालेनले जस्तो सुकै परिस्थिति आएपनि खोलामाथि बनेको भवन भत्काउनु पर्दछ । त्यसका लागि संघ सरकारले सहयोग गर्ने देखिँदैन । तर आम जनता भूमाफियाका विरुद्ध अनि खोलामाथि घर बनाउनेका विपक्षमा छन् र बालेनलाई साथ पनि दिएका छन् । काठमाडौंका जनताको साथ लिएर बालेनले टुकुचा खोलालाई खोलाकै रुपमा स्थापित गर्ने प्रयासलाई सार्थक बनाउन सक्नु पर्दछ ।