‘विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ ‘

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताए । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गदै प्रधानमन्त्री दाहालले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताए ।

उनले भने “प्राज्ञिक क्षेत्रमा तपाईंहरुले विकास र रुपान्तरणका सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाईंहरु अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

विश्वविद्यालय पाठ्यक्रम र पठनपाठन सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्रीले दाहालले भने, “विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव संशासनको स्थापनमा कृत्रिम बौद्धिकता ९एआई० को विकास भइरहेको अवस्था छ । हाम्रा विश्वविद्यालयहरुले सूचना प्रविधिको भरपूर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ ।”

देशमा व्याप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुशासन कायम गर्न लागिपरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्वपूर्ण हुने उल्लेख गरे भने, “मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो । शैक्षिक संस्थाले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमूनाको रुपमा विश्वविद्यालय देखिनुपर्दछ ।

जेठ १७ गते भारत भ्रमणमा जान लागेको जानकारी दिदै प्रधानमन्त्री दाहालले यस पटकको भारत भ्रमण विशिष्ट र राष्ट्रिय हितलाई महत्व दिने खालको हुनेमा विश्वास व्यक्त गरे ।  भ्रमणका क्रममा सन् २०१९ देखि रोकिएको व्यापार पारवहानसम्बन्धी सन्धि खुलाउने प्रयास हुने, हवाई रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वषौँंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोेजनालाई सुरु गर्ने, सीमा समस्या सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलगायतका शीर्ष नेता एवम् प्राध्यापक सङ्गठनका नेताहरुको सहभागि भएका थिए ।