काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्तानका लागि शैक्षिक प्रोत्साहनवापत १७ करोड ८१ लाखभन्दा बढी रकम अन्तिम भुक्तानीका लागि सूची प्रकाशन गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्नातक तह प्रथम वर्ष वा दोस्रो सेमेस्टरमा अध्ययनरत प्रक्रिया र योग्यता पुगेका निजामती कर्मचारीका ६७८ जना सन्तानहरुका लागि १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपैयाँ भुक्तान गर्नेगरी व्यवस्थापन समितिले सूची प्रकाशन गरेको हो।
अन्तिम सूचीअनुसार चिकित्सा शास्त्रमा १४४ जना, स्वास्थ्य विज्ञानमा २९, आयुर्वेदिकमा १, इन्जिनिरिङमा २२९, वन विज्ञानमा ५, कृषि विज्ञानमा ३६ जना रहेका छन्।
त्यसैगरी विज्ञानमा १२, कानुनमा ४५, व्यवस्थापनमा ११९, शिक्षामा ४, मानविकीमा ११, सूचना प्रविधिमा ५२ गरी जम्मा ६८७ जनाको सूची र पाउने रकमसहित उल्लेख गरिएको छ। उक्त रकम सम्बन्धित कर्मचारीहरुको बैंक खातामा भुक्तानी गर्नुपर्ने निर्णय गरिएको छ।


