लगातार घटेको सेयर बजार आज बढ्यो

काठमाडौं । लगातार तीन दिन ५५.७२ अंकले घटेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ पुगेको छ।

यस दिन २७१ वटा धितोपत्रको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ ३५ पैसा पुगेको छ।

यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ९.७४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २४९ रुपैयाँ ७० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ७.४३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३५ पैसामा सीमित भएको छ।

यस्तै, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ४.४१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १९५ रुपैयाँमा झरेको छ।

बिहीबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४६३ रुपैयाँमा १३ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.२१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५८३ रुपैयाँ १० पैसामा ७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन व्यापार समूहको परिसूचकमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। बिहीबार उक्त समूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ।

यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक २ प्रतिशतले बढेको छ।