काठमाडौंको चार वटै स्थानमा उपनिर्वाचनका लागी हुन लागेका मतदान जारी

काठमाडौं । काठमाडौंको चार वटै स्थानमा उपनिर्वाचनका लागी हुन लागेका मतदान जारी छ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर–१ र ४ को वडाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

काठमाडौं महानगर–१६ मा १० मतदानस्थल र २४ मतदान केन्द्र तोकिएको छ। कीर्तिपुरमा १० वडा, २० स्थल र ३८ केन्द्र छन्।

काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले मतदान शान्तिपूर्ण तवरले भइरहेको जानकारी दिए।

काठमाडौंमा उपनिर्वाचन भइरहेको चार वटै स्थानमा मतदान सकिएलगत्तै मतगणना सुरू हुने व्यवस्था को प्रवधन मिलाइएको उनले बताएका छन्।

मतदानको समय साँझ ५ बजेसम्म हुनेछ । त्यसपछि मतपेटिका संकलन गरी आजैबाट मतगणना सुरू गर्ने तयारी छ,’ उनले भने।

जिल्ला निर्वाचन अधिकारी भट्टराईले कीर्तिपुरको मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा हुने जानकारी दिए।

काठमाडौं–१६ को वडाध्यक्षको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताएका छन्।तीन वडाध्यक्षको मतपरिणाम रातभरिमा आइसक्ने पनि उनले बताए।
कीर्तिपुर मेयरको समय लाग्ला। काठमाडौं–१६ र कीर्तिपुरको दुई वडाध्यक्षको परिणाम रातभरिमा आउन सक्छ,’ उनले भने।

कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन्।

यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन्।

नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको साथ लिएर उम्मेदवारी दिएको छ।

कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवशरण महर्जन उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवारहरूमा राजमान महर्जन, नरेश श्रेष्ठ लगायत छन्।