पचली स्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शुरु भयो शहिद सप्ताह

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु स्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै यस वर्षको शहिद सप्ताह शुरु भएको छ । तत्कालीन निरंकुश राणा शासन विरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि सर्घष गरेकै कारण विक्रम सम्वत १९९७ साल माघ १० गते राणा शासकहरुले पचलीस्थित रुखमा झुण्ड्याएर शास्त्रीलाई मृत्युदण्ड दिईएको थियो ।

सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको सालिकमा माल्र्यापण गर्नु हुँदै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहिद दिवस मनाउनुको तात्पर्य इतिहासको सम्मान गर्नु भएको बताउँदै शहिदको योगदानको कदर गर्दै पुस्तान्तरण गर्नु पर्ने बताउनु भयो । उनले इतिहासलाई बुझ्ने र सम्मान गर्ने मान्छेले बर्तमानमा सच्चा नागरिक भएर काम गर्न सक्ने चर्चा गर्नु हुँदै शास्त्री बहुआयामिक व्यक्तित्व भएको धारणा राखेकी थिईन ।

कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले शहिदप्रति सच्चा सम्मान गर्ने हो भने शहिद दिवसको एक दिन वा सप्ताह मात्र नभई नयाँ पुस्तालाई शहिदहरुको बारे जानकारी हुने गरी अन्य विभिन्न कार्यक्रम गर्नु पर्ने विचार राखेका थिए ।

कार्यक्रममा आर्य समाजका अध्यक्ष डा माधव उपाध्यायले शहिद शुक्रराज शास्त्री राजनीतिक अभियन्ता भन्दा पनि नागरिकलाई जागरुक, चेतनशील बनाउने र शिक्षित बनाउन सकिए निरंकुश राणा शासन आफै पतन हुनेमा विश्वास गर्नु भएको उल्लेख गर्दैै नागरिकलाई मानव अधिकारका बारेमा सजग गराउनु नै मुख्य उदेश्य वोकेर नागरिक अधिकार समिति बनाएर त्यसको माध्यमबाट हिड्नु भएको चर्चा गरे ।

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म काठमाडौं महानगरपालिकाले राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा विशेष रुपमा शहिद सप्ताह मनाउँदै आईरहेको छ । माघ १० गते शुक्रराज शास्त्रीको सालिक भएको स्थान टेकु, १३ गते सिफल स्थित धर्मभक्त माथेमा एवं माघ १५ गते दशरथ चन्द र गंगालालाई गोली हानी मृत्युदण्ड दिइएको स्थान शोभाभगवतीमा मनाउँदै आईरहेको ।