काठमाडौं । स्वर्गद्वारी गुठीका किसानहरूको वास्तविक पहिचान गरी उनीहरूको समस्या समाधान गर्न आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले किसानहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिकी सभापति कुसुमदेवी थापाले किसानहरूको हक संरक्षणका लागि गुठी संस्थानसहित सम्बन्धित निकायहरूसँग समन्वय गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताइन्।
‘स्वर्गद्वारी गुठीका किसानहरूको वास्तविक पहिचान गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको छ,’ सभापति थापाले भनिन्।
साथै, समितिले यो विषयमा परेका समस्याहरूका समाधान र विशेष कार्यप्रगतिको विवरण फागुन महिनाभित्र संसदीय समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ।


Add Comment