धनगढी । केही महिनादेखि अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलाली शुक्रबार राति भने रक्तपातमा परिणत भएको छ । कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले कैदीबन्दीबीच शुक्रबार राति झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको बताए । चौधरी लागूऔषध मुद्दामा कारागारमा थिए । झडपका क्रममा ४७ जना घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमध्ये एक जनालाई सेनाको जहाजमार्फत काठमाडौं पठाइएको छ ।
यो घटनाले कारागारभित्र लागूऔषधको कारोबार र समूहगत गुन्डागर्दीजस्ता विकृति मौलाएको हुनसक्ने आशंकालाई थप बल पु¥याएको छ । बेला बेला यस्ता घटना कारागारमा हुँदा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर प्रश्न उठेको छ । घटनाको विस्तृत जानकारी अनुसन्धानपछि मात्रै सार्वजनिक हुने प्रशासनले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कैदीबन्दीहरूका दुई समूहबीच मनमुटाब बढेर झडपको अवस्था सिर्जना भएको देखिन्छ । कैदीहरूका ‘ए’ ब्लक र ‘बी’ ब्लकका समूहबीच झगडा भएको सुरक्षा अधिकारीको भनाइ छ ।
घटनापछि अस्पताल परिसर र कारागार वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यो कारागारमा १ सय ५० जनाको क्षमता रहेको भएपनि ७ सय कैदीबन्दी रहेका थिए ।
कैदीबन्दीद्वारा जेल कब्जा
एक जनाको मृत्यु हुनेगरी आपसमा झडप भएपछि कारागारको घटनास्थल कैदीबन्दीको कब्जामा रहेको छ । घटनापश्चात् कारागारमा शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदीबन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।
चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि फिर्ता भएको थियो । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । उनीहरूले कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थलसम्म पुग्ने अवस्था देखिएको छैन । ‘हामी घाइतेहरूको उपचारमा लागिरहेका छौँ, घटनास्थलमा जान सकिएको छैन,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले शनिबार साँझ भने, ‘घटनास्थलमा प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।’
हिंसाको कारण फितलो सुरक्षा
मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको औँल्याएको छ ।
मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताए ।
निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख बिदामा भएका कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरबाही, क्षमताभन्दा बढी कैदीबन्दी र कैदीबन्दीको स्थानान्तरण पारदर्शी हिसाबले नभएकोलगायतका कारणले घटना हुन पुगेको देखिएको बताए ।
भट्टले कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था भने सामान्य रहेको बताए । उनले स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र उनीहरूका आफन्तलाई सहज रूपमा भेट्ने वातावरण बनाउनसमेत निर्देशन दिइएको बताए ।
उनका अनुसार यसअघि कारबाहीमा असुरक्षित रहेको भन्दै कैदीबन्दीहरूले सामूहिक निवेदन दिएका आधारमा समेत प्रशासनमा सचेत गराइएको बताए ।
छानबिन गर्न समिति गठन
कारागारमा कैदीबन्दीबीच भएको झडपको छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बिहान भएको बैठकले घटनाको अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
छानबिन समितिलाई १० दिनको समय दिइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहने नवीन समितिको सदस्यमा सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह र अनुसन्धान अधिकृत दीपेन्द्र सिंह रहेका छन् ।


Add Comment