शिखर इन्स्यारेन्सले ल्यायो ‘शिखर स्वास्थ्य सुरक्षा’ योजना

काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजनाका रुवमा ‘शिखर स्वास्थ्य सुरक्षा’को ल्याएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक सार्वजनिक गरेको हो । व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बीमा गर्न मिल्ने यो स्वास्थ्य बीमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिने कम्पनीको भनाइ छ ।

यो नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सीमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाखसम्मको बीमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहन जाने विश्वास रहेको कम्पनीको भनाइ छ ।

यो स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससँग आबद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमांक रकमको १० प्रतिशत रकम (अधिकतम एक लाखसम्म)को बहिरङ्ग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवाअन्तर्गत बीमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकम बराबरसम्मको उपचारको लागि बीमितले अस्पतालमा बिल भुक्तानी गर्नुपर्ने छैन, शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिने कम्पनीको भनाइ छ ।
नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बीमितले झन्झटरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ ।शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्री हस्पिटलाइजेसन र ६० दिनसम्मको पोस्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचारअन्तर्गत एक सय ५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ । साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।