काठमाडौं । ललितपुर महानगरपालिकाले ‘पाटन पाइलै पाइलामा’ अभियान अन्तर्गत पाटन सम्पदा क्षेत्रमा सातामा दुई दिन सवारीसाधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ। मेयर चिरिबाबु महर्जनले शनिबारदेखि सुरु हुने यो कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गरिने जानकारी दिएका छन्।
पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सम्पदा क्षेत्रमा सवारीसाधन रोकिनेछ। महानगरले यो व्यवस्था दुई महिना परीक्षण गर्ने र त्यसपछि थप दिन तथा समय विस्तार गर्ने योजना बनाएको छ।
- १३, १७ र २० मंसिरमा दिउँसो १ देखि साँझ ६ बजेसम्म सवारी रोकिँदैछ।
- २४ र २७ मंसिरमा भने बिहान ८ बजेदेखि राति ७ बजेसम्म सम्पदा क्षेत्र सवारीसाधनमुक्त रहनेछ।
- दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिनेछ।
- १६ र १९ पुसमा बिहान ८ बजेदेखि राति ७ बजेसम्म सम्पदा क्षेत्रमा सवारी रोकिनेछ।
महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधन बाहेक सबै गाडीलाई रोक्ने व्यवस्था हुनेछ। यस अवधिमा सम्पदा क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने र क्षेत्रलाई पैदलमै अनुभव गर्न सकिने वातावरण सिर्जना गरिनेछ।

