आमासँगको त्यो यात्रा, जसले मेरो जीवन बदल्यो

मातातीर्थ औंसीको झिसमिसे बिहान । आकाशले कालो च्यादर बिस्तारै उघार्दै थियो । चिसो बतासले शरीरको अंगअंग छुदै थियो । तर, मनभित्र आमासँग पुरै दिन बिताउने एक किसिमको हुटहुटी र न्यानोपन फैलिदै थियो । म भने कोटेश्वरको प्रतिक्षालयमा आमालाई पर्खिरहेको थिएँ ।

आमाले कौशलटारबाट आउनुपर्ने थियो भने मैले कपनबाट जानुपर्ने थियो । हामीले कोटेश्वरमा भेट्ने तय गरेका थियौँ । त्यसो त म प्रायजसो आमाको न्यास्रो लाग्ने वित्तिकै आमालाई भेट्न पाउने भाग्यमानी छोरी थिएँ । बेलाबखत आमालाई भेट्न माइतीघर गइरहन्थेँ । तर , मातातिर्थ औँसीको दिन आमासँग घर बाहिर भेट गर्नु पर्ने विशेष कारण यो थियो कि — पहिलो पटक मैले आमालाई मन्दिर लैजान लागेको थिएँ । त्यो पनि आमाको ईच्छा अनुसारको मन्दिर । त्यो दिन म निकै हतारिदै आमा भन्दा अगाडि नै कोटेश्वर पुगेँ । आमा आउने बाटोका हरेक बसमा मेरो आँखा अडिन्थे । आमालाई पर्खिदाको छट्पटी एक प्रेमीले प्रेमीकालाई पर्खिए जतिकै थियो । करिव एक घण्टाको पर्खाइपछि आमा मुस्कुराउँदै बसबाट ओर्लिनुभयो ।

आहा ! आमाको उज्यालिएको अनुहार । साच्चै मेरी आमा संसारकै सुन्दर महिलाहरु मध्यकी एक हुन् । हेरिरहुँ झैँ लाग्ने । ठुला ठुला आँखा , कालो कपाल र गहुँ गोरो मुहारमा टलक्क टल्किएको रातो बाटुलो टिकाले आमालाई बिछट्टै सुहाएको थियो । खदिलो शरिरमा लगाएको रातो फरिया चोलिले असाध्यै खुलेको थियो । आमाको टमक्क मिलेका सेता दन्त लहरले जोकोहिलाई पनि लोभ्याउथ्यो ।
‘आमा !’ मैले चिच्याएर बोलाएँ ।
आमाले पुलुक्क मलाई हेर्नुभयो सरासर मतिर आउनुभयो ।
‘काली कति छिटो आईपुगेकी , निदाइनस् कि के हो ? निन्द्रा पुगेरै उठेको हो नी ?’ आमाले हप्काएझै गरेर प्रसस्तै माया मिसाएर सोध्नुभयो ।
अँ चाँडै उठेँ नी । मैले बिहान अबेरसम्म निदाउन बिर्सिसकेँ आमा । पहिला पो हजुरको पोल्टामा थिएँ अहिले त कहाँ मिल्छ र ? म लाडिएझैँ , घुर्की लगाझैँ गरेर फिस्स हाँसेर रोकिएँ ।
ओहो ! होला होला – जानेकी छेस् बोल्न । यति भनेर आमा गलल्ल हाँस्नुहुन्छ ।
– अब जाउँ ल भन्दै, म आमाको हात समाएर मातातिर्थसम्म जाने थानकोटको बसमा चढ्छु । उहाँको हात चाउरिएको थियो, तर त्यो चाउरीभित्र वर्षौँको माया, त्याग र सहनशीलताको कथा कुँदिएको थियो । म आमाको हात सुम्सुमाउँदै आमाको ममतामा लुपक्क भएर मन्दिरसम्म पुग्छु ।

बाटोभरि श्रद्धालुहरूको भीड थियो । कसैले आमालाई काँधमा बोकेका थिए । कसैले हात समातेर डोेहोराईरहेका थिए । तर जसले आफ्नो आमा गुमाइसकेका थिए उनीहरुका आँखा भने खाली थिए । त्यो भीडमा हरेक अनुहार भित्र एउटा कथा थियो भने हरेक पाइलामा एउटा स्मृति ।

हामी दर्शनका लागि लाइनमा बसेका थियौँ । आमा विस्तारै अतितलाई सम्झिन थाल्नुभयो । उहाँको आवाज बिहानको कुहिरो जस्तै मन्द थियो भने त्यसभित्र लुकेको पीडा पहाड जस्तै भारी ।
आमाले आफ्नी ममतामयी आमालाई र आफूले गुमाएका ५ जना छोराहरुलाई स्मरण गर्नुभयो । अहिले ती ५ छोराहरु बाँचीरहेका भए मेरा ९ भाई छोरा र दुई छोरी हुन्थे । तिमी सबैभन्दा कान्छि छोरी हौ हाम्रो घरकी । आमाले सुनाइरहँदा मैले आफूलाई असाध्यै भाग्यमानी महसुस गर्छु ।
यति धेरै सन्तान किन जन्माएको होला । म त झन् अन्तिमको त्यो पनि छोरी । नजन्माएको भए पनि हुने थियो नी । किन द्ुख बेसाएको होला भनेर म गम्भिर हुन्छु ।
आमा भन्नुहूनछ,“हाम्रो पालामा छोरी हुनु भनेको नदी हुनु जस्तै थियो,जहाँबाट बगे पनि अन्त्यमा समुद्रमा मिसिनैपथ्र्यो ।”
आमाका शब्दहरूले समयका कठोर सत्यहरू ओकलिदै थिए । सात वर्षको उमेरमा विवाह भएर कर्मघर जानुपरेको कथा उहाँले यसरी भन्नुभयो । मानौँ त्यो उहाँको जीवन होइन । कसैको अधूरो सपनाको दर्दनाक चिहान हो ।
आमा झोक्किदै भन्नुहुन्छ , “ छिः कति निर्दयी परम्परा ? त्यो बेला पराईघरको आँगनमा आमाको यादमा आँसु पनि चुपचाप एक्लै बगाउनुपथ्र्यो । कसैले देख्लान् कि भनेर डराउनुपथ्र्यो । नयाँ घरका नयाँ सदस्यहरुको आज्ञा पालना गर्दा अनुहार कालो निलो हुँदासम्म पनि सुरक्षित आमाको काख पाईदैनथियो । भोक लाग्दा भोक लाग्यो भनेर ढुक्कले भन्न सकिदैन थियो । तर कान्छा दाजूका आमाले मलाई निकै माया गर्नु हुन्थ्यो मेरी आमाले जस्तै । ”
– को कान्छा दाजु आमा ?
– तेरा बाउ क्या ।
ए ! बुबा तपाईँको कान्छा दाजू पो हुनुहुन्छ ? हामी एक्छिन खित्का छोडेर हास्छौँ ।
वरिपरिकाले हामीलाई हेर्थे तर म भने आमाको अनुहारतिर हेर्थेँ । आमाको आँखाको किनारामा समयसँग सम्झौता गरिरहेका खुसिका रेखाहरू सुक्दै गरेका देखिन्थे ।
उहाँले फेरी कर्म घरमा भोगेका दिनहरू सम्झिदै भन्नुहुन्छ , “अक्षर चिन्ने र खेल्ने उमेरमा गोठालो जानुपर्यो, घाँस काट्नु पर्यो , सकिनसकि एक कोस परेको पधेँरीको पानी बोक्नुपर्यो , चुलो चौका देखि लिएर घरधन्दा सबै सबै गर्नुपर्यो र शारिरिक मानसिक र सामाजिक रुपमा परिपक्व नहुँदै कलिलै उमेरमा वर्षेनी सन्तान जन्माई ठुलो जिम्मेवारी बोक्नुपर्यो ।”
आमाले आफ्नो दर्दनाक जीवन संघर्ष यसरी सुनाउनुभयो कि ममाथी सिंगो आकाश खसेर थिचिरहेको महसुस हुन्थ्यो ।
अनि तपाईँलाई माया गर्ने हजुरकी कान्छा दाजुकी आमा हुनुहुन्थ्यो होइन ? उहाँले तपाईँलाई दुःख नगर भन्नुभएन र ? आमाले जस्तै माया गर्नुभयो होला त ? अनि किन यति धेरै कहाली लाग्दो जीवन व्यतित गर्नुपर्यो ? म जिज्ञासा राख्छु ।

“ कान्छि दुलही भन्दै उहाँले मलाई आमाको माया कमि हुन दिनुभएन तर आमाको काख जस्तो त कहिल्यै नहुँदो रहेछ ।”
– यो वाक्यले मेरो मनभित्र गहिरो तरंग ल्यायो ।

साच्चै आमाको काख – जुन संसारकै सबैभन्दा सुरक्षित ठाउँ हो । आमाको अगाडि आफूलाई सधैँ उहि दुधे बालक नै छु जस्तो महसुस हुन्छ । त्यो गुमाउनु भनेको बालापन पुरै नै गुमाउनु हो । धन्न मेरो भने बालविवाह भएन । हुँदो हो त यतिबेला मैले आमाको जीवन संघर्षको कथा नलेखेर आफ्नै अनुभव र भोगाईहरु लेखिरहेकी हुन्थेँ ।

मन्दिर नजिकिँदै थियो । घण्टीको आवाज टाढैबाट सुनिन्थ्यो । हरेक ध्वनि आमाको नाममा उच्चारित प्रार्थना जस्तो लाग्थ्यो । जलकुण्डमा मानिसहरू आफ्ना आमाको सम्झनामा टोलाइरहेका थिए । कसैले पानीमा आफ्ना आँखा झुकाएर हराएको आमाको अनुहार खोजिरहेका थिए । कसैले हात जोडेर मौन संवाद गरिरहेका थिए। मैले भने आमाको हात अझ बलियोसँग समातेँ । त्यो स्पर्शले मलाई वर्तमानमा बाँधिरहेको थियो । जहाँ म सबैभन्दा भाग्यमानी ठानिरहेका थिएँ – मेरो साथमा आमा हुनुहुन्थयो ।

तर त्यो भीडभित्र केही अनुहारहरू यस्ता पनि थिए, जसले समाजको अर्को यथार्थ बोकेका थिए । एक वृद्ध आमा एक्लै बसेकी थिइन् । उहाँको नजर भीडभित्र कसैलाई खोजिरहेको थियो । तर त्यो खोजी अधुरो थियो । उहाँको अनुहारमा मैले देखेका प्रश्नहरु – किन मेरा सन्तान टाढा भए? किन म बुढेशकालमा एक्लो हुनुपर्यो ? यी प्रश्नले मेरो मन चसक्क हुन्छ ।

त्यसो त, समाज परिवर्तन भएको छ । तर परिवर्तनले सबैलाई समान रूपमा छोएको भने अझै छैन । समृद्धिसँगै सम्बन्धहरू कमजोर भएका छन् । आजका धेरै सन्तानहरू सपना पूरा गर्न, भविष्य बनाउन भन्दै विदेशीने गर्छन् । भविष्य बनाउँदा उनीहरूले विगत बिर्सिन्छन् । आमाको त्यो हात, जसले उनीहरूलाई हिँड्न सिकायो, एक्लै काँपिरहँदा थाम्न भुल्छन् । र त, मन , मस्तिष्क र शरिरले कमजोर भएका आमाहरले यतिबेला वृद्धाश्रमहरू खचाखच भरिदै छन् । वृद्धा आश्रममा रहेका आमाहरुको जीवन एउटा खुला घाउ जस्तो भएको छ । कोट्याउन धेरै धाउँछन् आनन्द र सन्तुष्टिको मलम लगाएर निको पार्न कसैले सक्दैनन् ।

मन्दिरमा म समयको त्यो यथार्थलाई नजिकबाट देख्दै थिएँ । आमाको बुढेशकालको चित्रले झस्काइरहेको थियो भने मेरो भविष्यले मलाई गिज्याईरहेको थियो । किनकि म पनि एक छोरीकी आमा हुँ । मेरी छोरी समयसँगै हुर्कँदै छिन् । उसको हाँसो घाम जस्तै उज्यालो छ । उसका प्रश्नहरू नदी जस्तै बगिरहन्छन् । म एक्कासी भक्कानिन्छु र आफैलाई प्रश्न गर्छु , “मैले उसलाई कस्तो संसार दिँदैछु ? सुविधा र अवसरको संसार या संस्कार र सम्बन्धको ? किनकि जीवन केवल सफलता मात्रै नभएर सम्बन्धको निरन्तरता पनि हो । यदि सम्बन्ध टुट्यो भने सफलताको कुनै अर्थ हुन्न । सबथोक खोक्रो हुन्छ ।

आमासँगको त्यो यात्रा मेरो लागि सहज जीवन जीउने ऐना बन्यो । जसले विगत, वर्तमान र भविष्यलाई एकैसाथ देखादियो ।
विगत – जहाँ आमाहरूले चुपचाप पीडा सहेर परिवार जोगाए ।
वर्तमान – जहाँ हामी अवसर र चुनौतीबीच अलमलिरहेका छौँ ।
भविष्य – जहाँ हाम्रो निर्णयले सम्बन्धको दिशा तय गर्नेछ ।

मन्दिरबाट फर्कँदै गर्दा उज्यालोले अँध्यारोलाई निलिसकेको थियो । पारिलो घामले निधार तातिएको थियो । तर मनभित्र अझै केही चिसा प्रश्नहरू बाँकी थिए । के हामी साँच्चै आधुनिक भएकै हौँ त ? के आर्थिक प्रगतिमा भावनात्मक सम्बन्धहरू कमजोर भएकै हुन् त ? यी प्रश्नहरूको उत्तर मेरा लागि सजिला पक्कै थिएनन् तर यी प्रश्नमा एउटा सत्य के थियो भने आमाको माया बिना कुनै पनि सफलता पूर्ण हुँनै सक्दैन ।

म आमाको हात समातेर घर फर्किएँ । त्यो हात अब पहिलेभन्दा झन् मूल्यवान् लागिरहेको थियो। किनकि त्यो केवल एउटा हात थिएन, त्यो मेरो अस्तित्वको आधार थियो। मैले मनमनै संकल्प गरेँ – म मेरो छोरीलाई केवल पढाइ र सीप मात्र होइन, माया, सम्मान र जिम्मेवारी पनि सिकाउनेछु । ताकि भोलि जब म उमेरको अन्तिम विन्दुमा पुग्छु त्यतिबेला मेरो अनुहार भीडभित्र एक्लै हुन नपरोस् ।
— परिवर्तनको हावा जति नै चलेपनि संस्कारको जरा मनभित्र रहिरहोस् ।

आमाले मलाई सिकाउनुभयो जीवन आफ्ना लागि मात्रै नभएर अरूका लागि पनि बाँच्नुपर्छ । त्यो “अरू” भित्र सबैभन्दा पहिले आमा नै पर्नुहुन्छ । र त, म मेरो कर्मघरकी आमाको छत्रछायाँमा निकै आनन्दित र शान्त महसुस गर्छु । मेरो स्वर्ग मेरो कर्म घर ।