छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने अर्थमन्त्रीको भनाई

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकी विरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

नेपाल स्थित चिनियाँ दूतावासले आयोजना गरेको ‘वसन्तको आवाज गीतसङ्गीतका साथ भित्री मङ्गोलियाको यात्रा’ कार्यक्रममा उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त समेत गरे ।

अर्थमन्त्री वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चीन र नेपालबीचका भौगोलिक एवं सांस्कृतिक समानताका विविध पक्ष सुनाए । उनले भित्री मङ्गोलियाको सांस्कृतिक वैभव द्विदेशीय सांस्कृतिक आदान प्रदानका निम्ति महत्वपूर्ण रहेको समेत बताए।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चिनियाँ पक्षबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री डा वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपालले सिक्न चाहेको समेत उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा चिनियाँ समृद्धि र त्यसबाट नेपालले पाठ सिक्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने विषय समावेश गरेको धारणा राखे ।

चिनियाँ सहयोगमा निर्मित चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौँ सडक, रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको अर्थमन्त्री डा वाग्लेको धारणा थियो ।

नेपालमा चिनियाँ बैङ्क स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारी रहेको बताउँदै उहाँले नेपालको चौतर्फी विकासका निम्ति दृढ सङ्कल्पका साथ क्रियाशील वर्तमान सरकारले सुशासन, आर्थिक र समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिए ।