पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस काठमाडौंमा 

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन समारोह आयोजना गरिएको छ। समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराउनुभएको थियो। कार्यक्रममा पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका अधिकारीहरू परिवारसहित सहभागी भएका थिए।

समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारका स्वतन्त्रता दिवस सन्देशहरू पढेर सुनाइएको थियो। उनीहरूले पाकिस्तान निर्माणका लागि योगदान गर्ने नेता, आन्दोलनकारी तथा राष्ट्रका लागि बलिदान दिने व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय सार्वभौमिकता, शान्ति, विकास र क्षेत्रीय स्थायित्वप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए।

राष्ट्रपति जरदारीले स्वतन्त्रता ऐतिहासिक उपलब्धि मात्र नभई जिम्मेवारीसमेत भएको उल्लेख गर्दै क्षेत्रीय द्वन्द्व न्यूनीकरण र संवाद प्रवर्द्धनमा पाकिस्तानले निर्वाह गर्दै आएको भूमिकालाई महत्वपूर्ण बताए।

प्रधानमन्त्री शहबाज शरीफले चुनौतीका बाबजुद पाकिस्तान राष्ट्रिय विकास र समृद्धिको यात्रामा अघि बढिरहेको बताउँदै राष्ट्रिय सुरक्षामा सशस्त्र बलको योगदानको प्रशंसा गरे। उनले दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु–कश्मीर विवादको कूटनीतिक समाधान आवश्यक रहेको उल्लेख गरे।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले एकता, विश्वास र अनुशासनका सिद्धान्तमा आधारित पाकिस्तानले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। उनले सार्वभौमिकता, सुरक्षा, क्षेत्रीय शान्ति र अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धता दोहोर्‍याए।

समारोहलाई सम्बोधन गर्दै राजदूत मोहम्मद आमिर खानले सन् १९४७ को ऐतिहासिक संघर्ष र राष्ट्रका अग्रजहरूको बलिदानको स्मरण गर्नुभयो। उहाँले पश्चिम एसियामा तनाव कम गर्न पाकिस्तानले खेलेको कूटनीतिक भूमिकाले सकारात्मक प्रभाव पारेको बताउँदै शान्ति र प्रगतिप्रति पाकिस्तानको प्रतिबद्धता स्पष्ट गर्नुभयो।

राजदूत खानले नेपाल र पाकिस्तानबीच सदियौँ पुराना सभ्यतागत सम्बन्ध, ऐतिहासिक सम्बन्ध तथा साझा मूल्यमा आधारित द्विपक्षीय कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभयो।