काठमाडौं । वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेपछि विभिन्न बैंकहरूले धमाधम सूचना जारी गर्न थालेका छन्। जोखिम न्यूनीकरणका लागि केही बैंकले आफ्ना आधिकारिक वेबसाइट तथा अनलाइन सेवासमेत अस्थायी रूपमा बन्द गरेका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको अत्यन्त जरुरी सूचनामा एज्ए प्रविधिमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर बैंकको वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। यस्तो जोखिमबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गरेको सूचनामा उल्लेख छ।
राष्ट्र बैंकले जोखिमसँग सम्बन्धित आवश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ। साथै, जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक ९एक्इ०, भुक्तानी सेवा प्रदायक ९एक्ए० र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ।
यसैबीच, एनआईसी एशिया बैंकले पनि आफ्ना ग्राहक तथा सरोकारवालालाई अत्यावश्यक सूचना जारी गर्दै बैंकको आधिकारिक वेबसाइट र अन्य अनलाइन सेवा ९ई–सर्भिसेज० अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। बैंकले एज्ए प्रविधिमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा कमजोरी र सम्भावित जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।
बैंकका अनुसार हाल जोखिम मूल्याङ्कन भइरहेको छ। सम्भावित समस्या समाधान गरी प्रणाली पूर्ण रूपमा सुरक्षित बनाउने काम पूरा भएपछि सेवा पुनः सञ्चालन गरिनेछ। यसबाट ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमासमेत मागेको छ।
नबिल, ग्लोबल आईएमई, सानिमा र अन्य बैंकका सेवा पनि प्रभावित
पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमपछि एनआईसी एशियाबाहेक नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले पनि वेबसाइट वा वेबमा आधारित केही सेवा अस्थायी रूपमा बन्द गर्ने वा प्राविधिक सुधार गर्नेबारे सूचना जारी गरेका छन्।
बैंकहरूले अपनाएको यो कदमलाई सम्भावित साइबर आक्रमणबाट बच्न गरिएको पूर्वसावधानीका रूपमा हेरिएको छ। तर वेबसाइट वा अनलाइन सेवा बन्द हुँदैमा बैंक ह्याक भएको वा ग्राहकको पैसा तथा विवरण चोरी भएको पुष्टि हुँदैन। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि भएको छैन।
विश्वव्यापी रूपमा देखिएको यो सुरक्षा कमजोरीले नेपालका बैंकिङ संस्थासँगै सरकारी तथा अन्य संस्थाका वेबसाइटलाई समेत प्रभावित पारेको छ। साइबर सुरक्षा निकायहरूले जोखिमयुक्त प्रणाली अद्यावधिक गर्न र तत्काल सुरक्षित बनाउन नसकिएसम्म त्यस्ता सेवा अस्थायी रूपमा बन्द राख्न सुझाव दिएका छन्।

