काठमाडौं । प्रहरीले शुक्रबार दुई पत्रकारलाई उनीहरू कार्यरत सञ्चार गृहबाटै नियन्त्रणमा लिएपछि प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठेको छ।
पक्राउ पर्नेमा नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल रहेका छन्। सुवेदीलाई बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट र बराललाई अनामनगरस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो। त्यस्तै नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीलाई पक्राउ गर्नका लागि प्रहरी पत्रिकाको कार्यालयमा पुगेको छ ।
समाचारको विषय र स्रोतसँग सम्बन्धित सोधपुछका लागि पत्रकारलाई सञ्चार गृहबाटै पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न खडा गरेको छ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको अवस्थामा पत्रकारलाई समाचार लेखेकै आधारमा त्रसित बनाउने वा सञ्चार गृहमा प्रवेश गरी नियन्त्रणमा लिने प्रवृत्ति स्वीकार्य हुन सक्दैन।
नेपाल पत्रकार महासंघले पनि समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ।
सम्बन्धित निकायले पक्राउको कानुनी आधार र कारण सार्वजनिक गर्दै दुवै पत्रकारलाई तत्काल रिहा गर्नुपर्छ। प्रेस स्वतन्त्रताको सम्मान गर्नु र पत्रकारलाई निर्भयतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व हो।


Add Comment