(मस्ती लिई घुम्दछन्)
बोक्छन् साथ कमण्डलु प्रतिदिनै मैला लुगा लाउँछन्
सुत्छन् ती रुख-फेदमा कुटिरमा वास्ता न ती गर्दछन् ।
माया मोह कुनै रहन्न मनमा यो देह नै भुल्दछन्
यी हुन् भिक्षुक साधु-सन्त सुखको मस्ती लिई घुम्दछन् ।।
(पर्दैन दुःख व्यथा)
संसारीपनमा भुलेर नबसे छैनन् व्यथा दुःखद
फाले हर्ष-विषाद भित्र मनका यो जिन्दगी सुख्खद ।
लोभ क्रोध र मोह छाड्न सकिए यी जिन्दगीका कथा
भोग्दै देह विदेहझैँ मन भए पर्दैन दुःख व्यथा ।।
(हा धिक् बिचल्ली नहोस्)
ऐले देश-विकास भन्नु सबको यै प्राण अल्झे भयो
खोकी खोक्नु परे परोस् तर अरू बेथा नबल्झे भयो ।
बेथा बल्झिगयो भने हरि प्रभो बस्नै घरै पाइयोस्
अस्पत्ताल गएर आँगनहुँदो हा धिक् बिचल्ली नहोस् ।।
(पूर्ण लत्याउँदैछ)
वैशाखी याम कस्तो खलखल पसिना आउने घाम छैनन्
वासन्ती कान्ति साथै पवन सिरसिरे दौडिने याम छैनन् ।
कोरोना जग्जगाई सकल घरघरै काल भित्र्याउँदैछ
मेरो यो देश-सत्ता जन-मन निचरी पूर्ण लत्याउँदैछ ।।

