काठमाडौँ । मनाङ जिल्लामा वर्षौंदेखि अलपत्र भएको दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालय मनाङले पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन दिएको थियो ।
जिल्लाको ङिस्याङ गाउँपालिका ४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि प्रशासनले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायलाई निर्देशन दिएको हो । तर प्रशासनले निर्देशन दिएको १ महिना हुँदासम्म पनि निर्माणाधीन मोटरेबल पुल निर्माण भने अझै सञ्चालन भएको छैन । सरकारी निकाय र निर्माण व्यवसायी दुवैले अख्तियारीको दुरुपयोग गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताइएका छन् ।
ङिस्याङ–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । सरकारी रकम खर्चेर तोकिएको समयमा काम गर्ने गराउने सम्झौता गरेका सरकारी निकाय र निर्माण व्यवसायी दुवैले समयमै काम सम्पन्न नगरी अख्तियारीको दुरुपयोग गरेको छ । यो चरम लापर्बाही भयो । हामीले दिएको निर्देशनसमेत मानेको छैन । अटेर गरेर बसेका छन् । पटकपटक तकेता गर्दै आए पनि ठेकेदारले नमानेको अधिकारी आचार्यको भनाई रहेको छ ।
पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो । ङिस्याङ–४ हुम्डे र वडा नं ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडा नं ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्रे नै छ । काठमाडौँस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ४ करोड ५१ हजारको लागतमा निर्माण सुरु गरेको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो ।
मोटरेबल पुल निर्माणका लागि स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो । कम्पनीले ९ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । कोरोना सङ्क्रमण जोखिमसँगै सोही बहाना बनाएर कम्पनीले निर्माण अवधि लम्ब्याउँदै गएको स्थानीयबासीले गुनासो गरेका छन् । पुल निर्माण ढिलाइ गर्ने र प्रशासनको निर्देशनसमेत नमान्दा प्रशासनले कानुनबमोजिम कडा कारबाही गर्ने पुनः चेतावनीका साथ निर्देशन दिएको छ । साथै उक्त दुवै पुलको काम यथाशीघ्र सुरु गरी समयमा काम सम्पन्न नगरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले जानकारी गराएको छ ।
–––
Add Comment