काठमाडौँ । गोरखाबाट तीनपटक चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अहिले उम्मेदवार छैनन् तर उनी गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँगसँगै चुनावी दौडधुपमा छन् । भट्टराईले मतदाता भेलामा आफूले सुरू गरेको विकास निर्माणको काम अब माओवादी अध्यक्ष दाहालले अगाडि बढाउने र आफू बिदा माग्न आएको बताउने गरेका छन् ।
पालुङटार नगरपालिका–१, खोप्लाङस्थित उनकै गाउँमा भेटिएका भट्टराईसँग चुनावकै विषयमा कान्तिपुरकर्मी जनकराज सापकोटा र हरिराम उप्रेतीले गरेको संक्षिप्त कुराकानी ?
तपाईंले चुनाव नलड्ने घोषणा गर्नुभयो । यो अकस्मात् निर्णय थियो कि सुविचारित ?
यो सुविचारित हो, आकस्मिक होइन । मैले पटक–पटक अन्यत्र पनि बोलेको छु, निश्चित समयपछि नेताहरूले स्वविवेकले पद र जिम्मेवारी अरूलाई हस्तान्तरण गर्नुपर्छ । अहिले संयोगवश गठबन्धनबाट नै चुनाव लड्ने निर्णय भयो । यो मलाई राम्रो अवसर पनि भयो । किनकि मैले गोरखामा विकास निर्माणका जे–जे काम अघि बढाएको थिँए, झट्ट जो पायो त्यहीलाई छाड्दा पनि अलपत्र पर्ने खतरा थियो । कमरेड प्रचण्डजस्तो नेता नै आउने सम्भावना देखेपछि मैले उहाँलाई आग्रह गरे । उहाँ गोरखा आउन तयार भएपछि मैले सहर्ष छाडें ।
छ न त तपाईंकी छोरी मानुषीको आफ्नै राजनीतिक पृष्ठभूमि पनि छ । तर कतिपयले तपाईंको निर्णयलाई छोरीको राजनीतिका निम्ति गरेको त्यागका रूपमा अर्थ्याएका छन् नि ?
हास्यास्पद कुरा हो । मानुषीको क्षमता सबैलाई थाहा छ । उनी आफ्नै ढंगले अगाडि बढेकी हुन् । फेरि काठमाडौंमा मानुषीको उम्मेदवारी पहिलेदेखि नै नयाँ पुस्तालाई अगाडि सार्नुपर्छ भन्ने अभियानअन्तर्गत थियो । युवाले उम्मेदवारी दिने अभियानअन्तर्गत स्वतन्त्र ढंगले कतिपयले उनलाई अघि सारेर प्रचार गरेको तीनरचार महिनाअघिदेखि नै हो । त्यतिबेला म आफैं चुनाव लड्नुपर्ने बाध्यात्मक अवस्थामा थिएँ । म नलड्ने निर्णय गरेको एक महिना मात्र भयो । भ्रममा पर्न आवश्यक छैन ।
तपाईं आफैं एउटै मान्छे वर्षौंसम्म राजनीतिमा हुनुहुन्न भन्नुहुन्छ । अर्कातिर तपाईंले बीसौं वर्षदेखि नेतृत्वमा रहेको मान्छेलाई नै चुनावमा साथ दिइराख्नुभएको छ नि ?
व्यक्तितिर नजाऔं । शेरबहादुरजीदेखि रामचन्द्रजी हुँदै ओलीजी, प्रचण्ड र मसम्म आइपुग्दा हाम्रो एउटै पुस्ता हो । करिब करिब ८ र १० वर्ष उमेरको फरक हो । हाम्रो पुस्ताले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ति संघर्ष गर्यो, योगदान गर्यो । त्यसलाई बिर्सन हुँदैन, हामीले संविधानसभाबाट संविधान ल्याउन भूमिका निर्वाह गर्यौँ । तर अब विकास, समृद्धि र सुशासनको नयाँ एजेन्डाका निम्ति हामीले नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । तर एकैचोटि भ्याकुम राख्न भएन । यो पाँच वर्ष संक्रमणकाल हुन्छ । त्यसमा केही साथी रहनुहुन्छ । मेरो बुझाइअनुसार पाँच वर्षपछि उहाँहरू सबै एकैसाथ निवृत्त हुनुहुन्छ । मैले चाहिँ अलिकति अघि बढेर बाटो देखाएको मात्र हो ।
अहिले सामाजिक सञ्जालमा नो नट अगेन भन्ने ट्रेन्ड चलिरहेको छ, जसले पुरानो पुस्ताका नेताहरूलाई स–सम्मान बिदा भएर नयाँ पुस्तालाई ठाउँ खाली गरिदिन आग्रह गरिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
यस्तो भन्नेहरू को हुन्, मलाई रहस्यमय लागेको छ । म यो अभियान त्यति व्यवस्थित पनि देख्दिनँ । अराजक ढंगले आएको देख्छु । मजस्तो मान्छे, जो चुनाव नै लडेको छैन । मलाई धरी जोडेको देख्छु । यो केही आक्रोश भएका गैरजिम्मेवार प्रकृतिका युवाले चलाएको ठान्छु । त्यसैले म यसमा टिप्पणी गर्न चाहन्नँ । मान्छे नचिनीकन के भनूँ रु तर भन्नैपर्छ, नयाँ पुस्ता भनेको विचार पनि हो । उमेर युवा छ तर त्यो राजतन्त्र फर्काएर ल्याउनुपर्छ, संघीयता खारेज गर्नुपर्छ, अलोकतान्त्रिक दिशातिर जानुपर्छ, समावेशिता अन्त्य गर्नुपर्छ, भन्ने विचार बोकेर पनि केही मान्छे आइरहेका छन् भने तिनलाई नयाँ भनेर छाड्न सकिँदैन । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर अगाडि बढ्ने अग्रगामी प्रकृतिको नयाँ पुस्ता खोजिरहेका छौं । पश्चगामी यथास्थितिवादी होइन ।
तपाईंले पनि अग्रगामी नयाँ पुस्तालाई एउटा घर दिन नयाँ शक्ति खोल्नुभयो । माओवादीलाई भत्किएको घरको संज्ञा दिनुभयो । तर लामो समयपछि फेरि युटर्न मारेर त्यही घरमा ओत लाग्ने अवस्थामा आइपुग्नुभयो । यसले त नयाँ पुस्तालाई निराश बनायो नि ?
त्यो सत्य होइन । मैले साझा कार्यक्रमहरूमा बोलिरहेको छु, प्रचण्ड र मेरो बीच व्यक्तिगत दुश्मनी कहिल्यै थिएन । खाली बाटो कसरी अघि बढ्ने भन्नेमा फरक कुरा थियो । संविधानसभाबाट संविधान बनिसकेपछि विकास र समद्धिको दिशाको बाटो हाम्रो के हो भन्नेमा फरक कुरा थियो । उहाँले पुरानो पार्टी अझ कम्युनिस्ट भनिएको एमाले पार्टीसँग मिलेर जाँदा उपयुक्त हुन्छ भन्ने बाटो लिनुभयो । तर त्यो बाटो पनि सफल साबित भएन ।
मैले विल्कुल नयाँ ढंगले नयाँ बाटो बनाउन खोजें । त्यो पनि त्यति परिणामुखी देखिएन । त्यसैले हामी दुवैको निष्कर्ष के हो भने, सबैले नयाँ ढंगले सोचौं, नयाँ आधारमा फेरि नयाँ ध्रुवीकरण गरौं भन्ने हो । उहाँ पनि पुरानो पार्टी फर्कने होइन । म पनि होइन । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबाट एउटै चुनाव चिह्न लिएका मात्रै हौं । चुनावपछि चाहिँ पार्टीको नाम र कार्यक्रम हेरेर नयाँ ढंगले अघि बढ्छौं । पुरानो घरमा फर्किएको होइन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा कार्यक्रममा तपाईंको समेत नाम लिएर हामी ठेस लागेको अवस्थामा थियौं भन्नुभएको थियो, कुरा त्यही हो ?
हामो उद्देश्य ठिकै थियो तर परिणाममुखी भएन । उहाँको र मेरो दुवैको प्रयोग सफल भएन । अब फेरि नयाँ प्रयोग गरौं भन्नेमा हामी छौं ।
तपाईंले अब म राजनीतिमा रहन्छु भन्नुभयो । फेरि नयाँ कार्यदिशामा जान्छु पनि भन्नुभयो । यसलाई बुझाइदिनुहोस् न ।
निष्क्रिय रहने भनेको होइन । चुनावमा भाग नलिईकन अन्य ढंगले सडक, सदन र सरकारको मोर्चाबाट सक्रिय रहने भनेको हो । जुन पब्लिक स्पेस छ, त्यहाँ बसेर काम गर्ने भनेको हो । यस्तो कर्म पनि राजनीतिक नै हुन्छ । म त्यसैबाट सक्रिय हुन्छु तर सत्तामुखी राजनीति गर्दिनँ ।
मतलब सत्तामा जानुहुन्न, चुनावी गतिविधिमा सक्रिय हुनुहुन्न तर राजनीतिक गतिविधिमा भने सक्रिय रहनुहुन्छ ?
राजनीति भनेको समाज रूपान्तरणको अभियान हो । म त्यसैमा निरन्तर सक्रिय हुन्छु ।
तपाईंको पछिल्लो राजनीतिक गतिविधि र कुरालाई विभिन्न ढंगले अर्थ्याउने गरिएको छ । कतिपयले तपार्इं राष्ट्रपति बन्ने बाटोतर्फ सोझिनुभएको छ भनेर पनि शंका गरेका छन् नि ?
शंका र कन्स्पिरेसी थ्यौरीमा विश्वास गर्नेलाई त मेरो भन्नु केही छैन । तर म सामाजिक रूपान्तरणको राजनीति गर्छु र त्यसैमा अघि बढेको छु ।
मतलब समाज सेवाको राजनीति गर्नुहुन्छ तर पदका निम्ति लाग्नुहुन्न ?
लाभको पदका निम्ति म लाग्दिनँ । तर समाज रूपान्तरणको राजनीतिमा निरन्तर लाग्छु । कान्तिपुरपोष्टबाट
Add Comment