काठमाडौं । न्यायका लागि पत्रकार (जर्नलिस्ट फर जस्टिस) नेपालले भेनेजुएलाका जनताको पक्षमा “जर्नलिस्ट सोलिडारिटी विथ द पीपल एन्ड सोअभरेन्टी अफ भेनेजुएला“ कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकाले भेनेजुएलासँगको द्वन्द्वलाई आक्रामक ढंगले बढाएको र समाधानका लागि संवादको मार्ग अपनाउन जर्नलिस्ट फर जस्टिस नेपालले आह्वान समेत गरेको छ । न्याय, सार्वभौमिकता, र भेनेजुएलाका जनताको अधिकारको सम्मान गर्न आग्रह गर्दै, शक्तिको प्रयोग एकजुट र रचनात्मक तरिकामा गर्नुपर्ने भन्दै न्यायका लागि कलम चलाउँदै आईरहेका पत्रकारहरूको समूहले यस समस्याको समाधान शान्तिपूर्ण संवाद र छलफलमार्फत खोज्न माग समेत गरेका थिए ।
कार्यक्रममा अमेरिकाले क्यारेबियन क्षेत्र र भेनेजुएलामा अशान्ति फैलाउन रोक्नु पर्ने, मानव अधिकारको रक्षा गर्न सक्रिय कदम चाल्नुपर्नेमा जोड दिइएको थियो । ‘न्यायका लागि पत्रकार’ले जनताको शान्तिपूर्ण जीवन र पत्रकारहरूले डर, त्रास बिना समाचार संकलन गर्ने अधिकारको रक्षा गर्नुपर्ने समेत जोड दिएका छन् ।
जर्नलिस्ट फर जस्टिस नेपालका महासचिव टिकाराम खड्काले विवादको समाधान शान्तिपूर्ण संवादमार्फत गर्नुपर्ने महत्वको बारेमा आफ्ना धारणा राखेका थिए । उनले भने कि सार्वभौमिकता र स्वाधिकार सबै राष्ट्रका मौलिक अधिकार हुन् र यी विवादहरू संवादमार्फत समाधान गर्नुपर्छ, सम्मान, सहअस्तित्व र भाइचाराको सम्बन्ध स्थापित गर्नु पर्ने बताएका थिए । त्यसैगरी, संस्थाका कार्यकारी सदस्यहरू वैकुण्ठ भण्डारीले आफूहरुले अन्यायमा परेका व्यक्ति, सम्प्रदाय वा राष्ट्रका पक्षमा विगतदेखि नै सञ्चार वकालत गर्दै सम्वादका माध्यमबाट न्यायको पहुँच दिलाउने काम गरिरहेको बताएका थिए ।
नागरिकहरुलाई न्याय दिलाउनका लागि न्याय सम्वाद सञ्चालन गर्दैै आईरहेको समेत बताए । त्यस्तै पत्रकार टंककला तिमिल्सेनाले आजको समयमा शान्तिको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको र संवाद र छलफललाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकारहरू, जस्तै ध्रुब लामिछाने, दिवाकर चौधरी, कुमार भण्डारी, कृस्टिना बस्नेत, कृति आचार्य, दिनेश शाक्य, लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो ।
काठमाडौंको चावहिलमा जर्नलिस्ट फर जस्टिसले आयोजना गरेको सो सोलिडारिटी कार्यक्रमको अवसरमा नेपाल–भेनेजुएला मित्रता संघका महासचिव फणिन्द्रराज पन्तले शुभकामना सन्देश पठाएका थिए । उनले पत्रकारहरूले आयोजना गरेको यो कार्यक्रमले विश्वव्यापी सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
अमेरिका र भेनेजुएलाबीचको तनाव पछिल्लो समय बढेको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो सैनिक तैनाथी बढाएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाएका छन् । यी क्रियाकलापहरूले तनाव थप चुलिएका छन् । यसको उत्तरमा भेनेजुएलाले ट्रम्पका आरोपहरू अस्वीकार गर्दै, अमेरिका भेनेजुएलाका प्राकृतिक स्रोतहरू कब्जा गर्न चाहिरहेको आरोप लगाएको छ ।


Add Comment