बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि एमालेसँग सहकार्य : अध्यक्ष कमल थापा

काठमाडौँ । पञ्चायत कालदेखिका राजनीतिक खेलाडीका रूपमा चिनिन्छन् राप्रपा नेपालका अध्यक्ष कमल थापा। यसपटक उनी एमालेसँग सहकार्य गर्दै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन्। यस पटक मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा पहिलो पटक २०३८ सालमा चुनाव लडेका थिए।

मकवानपुरबाटै २०४३ को निर्वाचन जिते। २०४५ सालमा सूचना तथा सञ्चार राज्यमन्त्री भए। त्यसपछिका निर्वाचनमा असफलता बेहोर्दै आए पनि उनी सत्ताको वरिपरि घुमिरहे। २०४८ मा असफलतापछि उनले २०५१ मा मकवानपुरबाटै चुनाव जिते। २०५६ र २०६४ को निर्वाचनमा पनि असफलता हात परे पनि २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बने। २०७४ मा नेपाली कांग्रेससँगको सहकार्यमा उनी नेकपा एमालेबिरुद्ध मकवानपुर १ मै चुनाव लडे। यसपटक एमालेसँग मिलेर कांग्रेस नेतृत्वको गठबन्धनबिरुद्ध मैदानमा छन्। उनी मकवानपुरबाट नौं पटकमन्त्री र उपप्रधानमन्त्रीसमेत बने। चुनावी माहौल, एमालेसँगको सहकार्यलगायतका विषयमा अन्नपूर्ण पोस्ट्का कृष्ण सारु मगरले नेता थापासँग गरेको कुराकानी।

तपाईंले मकवानपुरबाट धेरै पटक निर्वाचन लड्नुभयो। तर, थोरै पटक मात्र सफलता पाउनुभो। यो पटक कस्तो अपेक्षा गर्नुभएको छ ?

यो पटक म राम्रो सम्भावना देखिरहेको छु। यसको मुख्य कारण भनेको बिगतमा मकवानपुरको विकासका लागि हामीले गरेको काम हो। हामीले हेटौंडालाई प्रदेशको राजधानी बनाउने, हेटौंडा धरान चतरा सडक निर्माण गर्ने कामले मकवानपुरबासीमा अत्यन्तै सकारात्मक प्रभाव परेको देखेको छु। अर्को कुरा मकवानपुरमा तीन दशकयता एमालेको एकछत्र राज हुँदै आयो। अहिले पनि एमाले मकवानपुरमा पहिलो पार्टी हो। अहिले मलाई एमालेको सहयोग प्राप्त भयो। मैले एमालेकै सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गरेकाले अत्यन्तै सम्भावना देखेको छु।

तपाईंले एमालेबाट टिकट लिँदा र निर्वाचन लड्दै गर्दा एमालेका धेरै नेता कार्यकर्ता असन्तुष्ट थिए। उनीहरूको साथ पाउनुभएको छ त ?

करिब–करिब सतप्रतिशत असन्तुष्टि व्यवस्थापन भइसकेको महसुस गरेको छु। सुरुमा केही असन्तुष्टि थियो। एमालेको जिल्ला नेतृत्वले केही दिनभित्रै असन्तुष्टि समाधन गर्‍यो। अहिले एमालेको केन्द्रीय सदस्यदेखि बुथ तहका कार्यकर्तासम्म एकताबद्ध र संगठित भएर चुनावी अभियानमा लागिरहनुभएको छ। उहाँहरूले राष्ट्रिय राजनीतिमा देखा परेका ध्रुवीकरणलाई समेत मध्यनजर गर्दै सूर्य ध्वजाबहाक चिन्ह लिएका उम्मेदवारलाई कुनै पनि हालतमा जिताउनुपर्छ भनेर लागिपरेको मैले पाएको छु।

जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अत्यन्त उत्साहजनक छ। हामीले मकवानपुरको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, बिजुलीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको मकवानपुरको जनतालाई राम्रोसँग थाहा छ। प्रदेशको राजधानी हेटौंडा बनाएको, धरान चतरा सडकलाई हेटौंडासम्म बनाएको, हेटौंडामा दोस्रो औद्योगिक क्षेत्र बनाउन पहल गरेको पनि जानकारी छ। यी बिभिन्न कारणले जनताको अत्यन्त उत्साहजनक रेस्पोन्स पाएको छु। राष्ट्रिय राजनीतिमा लामो समय रहेर पनि एउटा स्वच्छ छवि र इमान्दारिताका साथ हामीले काम गरिरहेका छौं। त्यसबाट पनि जनता प्रभावित भएका छन्। खासगरी केपी ओलीको नेतृत्वको सरकारमा म उपप्रधानमन्त्री थिए। त्यो बेलामा मधेसमा आगो बलिरहेको थियो। भारतले नाकाबन्दी लगाएको थियो। त्यो आन्दोलनलाई मत्थर बनाउनुका साथै राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच आउन दिइन्।

भारतीय आर्थिक नाकाबन्दी हटाउन मैले खेलेको भूमिकालाई मकवानपुरे जनताले गर्वका साथ आत्मसाथ गरेको पाएको छु। संयुक्त राष्ट्रसंघमा त्यसबेला मैले नेपालको राष्ट्रिय हित र स्वाभिमानको पक्षमा जुन सशक्त आवाज उठाएँ, त्यसले पनि सकारात्मक प्रभाव परेको छ। यसैगरी उत्तरतर्फका छमेकी राष्ट्र चीनसँग व्यापार, पारवहान, तेल, रेल, बिजुलीको क्षेत्रमा सम्बन्धको नयाँ खाका कोर्न सफल भएको छु। यी सबै कारणले गर्दा म जहाँ गएको छु, जनताले सहयोग गर्छु भनेका छन्। यसका अलवा मैले लामो समय मकवानपुरमा राजनीति गरेका कारण जनताकाबीच मलाई चिनाइराख्नु परेन। तपार्इंलाई चिनेका छौं, यो पटक सहयोग गर्छौं भनेका छन्।

एउटा ठूलो पार्टीको अध्यक्ष। पार्टी सानो हुँदैहुँदै अहिले अर्को पार्टीको चुनाव चिन्ह लिएर उठ्नुपर्ने स्थिति आयो। कतै आफूलाई राजनीतिमा असफल हुँदै गएको जस्तो लाग्दैन ?

नेपालको राष्ट्रिय राजनीतिमा देशी विदेशी शक्तिले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेका छन्। त्यो षड्यन्त्रकै कारणले गर्दा मेरो पार्टी राप्रपा पनि क्षतविक्षद भएको छ। मैले राप्रपा नेपाललाई पुनर्जागृत गरेको अवस्था छ। यसैगरी राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्रको वर्तमान अवस्थामा मुख्य निसानामा नेकपा एमाले छ। नेकपा एमालेले बिगतमा लिएको सशक्त राष्ट्रवादी अडानको कारण भारतले लगाएको आर्थिक नाकाबन्दीको बिरुद्धमा सशक्त रूपमा अडियो। यसै कारणले गर्दा र पछिल्लो कालखण्डमा यो नेपालको लिम्पीयाधुरा सहितको भूभाग समेटेर चुचे नक्सा बनाएको कारणले गर्दा नेकपा एमालेलाई पराजित गर्ने र कमजोर बनाउने प्रयास भइरहेको छ।

अहिलेको अवस्थामा राष्ट्रवादी शक्तिको बलियो सम्बाहकका रूपमा नेकपा एमाले रहेको छ। यसरी राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको हुँदा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण होस् भन्ने चाहन्छु। बलियो राष्ट्रवादी सरकार बनोस् भन्ने उद्देश्यले मैले नेकपा एमालेसँग सहकार्य गरेको छु।

सहकार्य गरिसकेपछि नेपालको कानुनबमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाँदा साझा चुनाव चिन्ह लिनसक्ने प्रावधान छ। मेरो पार्टीको चिन्ह गाई हो। निर्वाचन आयोग र सर्वोच्च अदालतले षड्यन्त्रपूर्वक बदनीयतपूर्वक हाम्रो पार्टीको चुनाव चिन्ह गाई दिएन। यो स्थितिमा तीर चुनाव चिन्ह लिनुपर्‍यो। यो चुनाव चिन्ह जनताले चिनेका पनि छैनन्, पहिलो पटक भोट हाल्दैछन्। यस्तो स्थितिमा अर्कोतर्फ नेकपा एमालेको लोकप्रिय चुनाव चिन्ह सूर्य रहेको छ। नेपालमा सबैभन्दा धेरै जनताले भोट हालेको चिन्ह सूर्य हो। एमालेलको भोट लिन मिल्छ भने चुनाव चिन्ह किन लिन मिल्दैन भनेर जित निश्चितताको लागि सूर्य चिन्ह
लिएको हुँ।

नेकपा एमालेसँग के एजेन्डा मिल्यो र सँगै चुनाव लड्नुभयो ?
मुख्य रूपले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण र समग्र आर्थिक विकास र समृद्धिको एजेन्डामा हाम्रो साझा धारणा रहेको छ। यही नै सहकार्यको आधार हो। राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्युँताएर यहाँसम्म आइपुग्दा अरूलाई फस्ट म्यान स्वीकार गर्न नसक्ने नेताका रूपमा पनि तपाईंको आलोचना हुने गरेको छ। नेकपा एमालेसँग पार्टी एकतासम्मको पनि चर्चा छ।

यो कत्तिको सम्भावना छ ?
पहिलो कुरा के स्पष्ट पारौं भने राप्रपाको राष्ट्रिय अध्यक्षमा पराजित भएपछि राप्रपाबाट अलग भएको होइन। २०६३ सालपछिको राजनीतिक परिस्थितिपछिको प्रतिकूल अवस्थामा राजतन्त्र सहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँडे। तर, १५ वर्षको राजनीतिक अभ्यास, देशको धरातलीय यथार्थ र जनभावनालाई दृष्टिगत गर्दै यो १५ वर्षको बीचमा स्वयं राजाबाट भएका गलत व्यवहार, गतिविधि र प्रवृत्तिले मैले राजसंस्थाको एजेन्डा छाडेर लोकतन्त्रमा जाने निर्णय गरे।

स्वाभाविक रूपमा राप्रपामा बस्नसक्ने स्थिति थिएन र राप्रपा नेपाल पुनर्जागृत गरेको हुँ। पार्टीको चुनाव हारेर होइन, महाधिवेशन सकिएको करिब चार महिनापछि त्यो पार्टीभित्र आफ्नो मान्यताहरू अघि बढाउन सक्ने स्थिति नदेखेपछि, मेरो विचार र एजेन्डाहरू अलपत्र पर्नसक्ने देखेपछि मैले अलग बाटो रोजेको हुँ। म अहिले पनि राप्रपा नेपालको अध्यक्ष छु। राप्रपा नेपाललाई देशको एउटा बहिलो राष्ट्रवादी शक्ति बनाउने सपना छ। त्यो सपनाप्रति म अहिले पनि प्रतिबद्ध छु।

भनेपछि एमालेसँग पार्टी एकता हुँदैन ?
राजनीति तीव्र गतिले परिवर्तन भइरहेको छ। समीकरण फेरिरहेको छ। राजनीतिक ध्रुवीकरणमा आमूल परिवर्तन भइरहेको छ। भविष्यमा के हुन्छ भन्ने सकिन्न। मेरो अहिलको ध्यय भनेको एउटै मात्र छ, देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्छ।

त्यही बलियो राष्ट्रवादी शक्ति निर्माणको क्रममा नै मैले एमालेसँग सहकार्य गरेको हुँ। एमालेलाई साथ दिएको हुँ। म नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय स्वाभिमानमा आधारित एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण होस् भन्ने चहान्छु। त्यस कारणले गर्दा मेरो अहिलेको प्राथमिकता यही नै हो।

एमालेको नेतृत्वमा सरकार बन्यो भने तपाईंको भूमिका के हुन्छ ?

त्यति टाढाको कुरा सोचिहाल्ने विषय भएन। मैले अघि पनि भने। बिगत केही समययता बाह्य शक्तिको चलखेल र हस्तक्षेप बढेर गएको छ। नेपाल अन्तर्राष्ट्रिय महाशक्ति राष्ट्रहरूको रणनैतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा छ। देशभित्रका केही राजनीतिक दलका केही नेताहरूमा शक्तामा पुग्न र सत्तामा पुगेपछि टिकिरहन बाह्य शक्तिको सहयोग चाहिन्छ भन्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ। यसर्थ राष्ट्रियताको संरक्षण र सम्बद्र्धनको निमित्त एउटा बहियो राष्ट्रवादी शक्ति वर्तमान समयको आवश्यकता हो। मेरो मान्यता यही हो, सोचाइ यही छ। त्यहीअनुसार आगामी दिनमा पनि म क्रियाशील रहन्छु।

राजासँग तपाईंको कुरा मिलेपछि वा भनौं रिस मरेपछि फेरि कमल थापाले राजतन्त्रको एजेन्डा बोक्छ भन्नेहरू पनि छन् नि ?
मैले राजसंस्थाको एजेन्डा छाडिसकेको छु। र, मलाई अहिले लोकतन्त्रमा विश्वास गरेर जनताको सर्वोच्चतामा विश्वास गरेर अघि बढ्दा खुसी नै लागिराखेको छ। मेरो निर्णयमा पुनर्विचार हुँदैन।

निर्वाचनमा नयाँ पुस्ताको हस्तक्षेप बढ्दो छ। स्वतन्त्रको पनि लहर छ। यो पटक निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको प्रभावलाई के भन्नुहुन्छ ?

बहुदलीय प्रजातन्त्रमा सबैलाई चुनाव लड्ने स्वतन्त्रता हुन्छ। तर, आम चुनाव स्थानीय चुनाव जस्तो होइन। यो चुनावबाट केन्द्रमा र प्रदेशमा सरकार बनाउने दलको छनोट हुन्छ। अब स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले चुनाव जिते पनि सरकार बनाउने होइन। संसद्मा एउटा सामान्य भूमिकासम्म निर्वाह गर्न सक्छन्। एउटा सांसदले पाँच वर्षको अवधिमा संसद्मा बोल्ने मौका मुस्किलले दुई घण्टा मात्र पाउँछ।

१ मलाई एमालेको सहयोग प्राप्त भयो। एमालेकै सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गरेकाले जित्ने सम्भावना देखेको छु।
२ एमालेको भोट लिन मिल्छ भने चुनाव चिन्ह किन लिन मिल्दैन भनेर जित निश्चितताको लागि सूर्य चिन्ह लिएको हुँ।
३ राष्ट्रिय राजनीतिमा लामो समय रहेर पनि एउटा स्वच्छ छवि र इमानदारिताका साथ हामीले काम गरिरहेका छौं।
४ लामो समय मकवानपुरमा राजनीति गरेका कारण जनताकाबीच मलाई चिनाइराख्नु परेन।
५ राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने
६ षड्यन्त्र भइरहेको हुँदा देशमा एउटा बलियो राष्ट्रवादी शत्ति निर्माण होस् भन्ने चाहन्छु।
७ राष्ट्रियताको संरक्षण र सम्बद्र्धनको निमित्ता एउटा बहियो राष्ट्रवादी शत्ति वर्तमान समयको आवश्यकता हो। मेरो मान्यता यही हो, सोचाइ यही छ।
८ गठबन्धनको कठपुतली सरकार जनताले रुचाउँदैनन्। र स्वाभाविमानी राष्ट्रवादी सरकारको पक्षमा जनताले पूर्ण बहुमत प्रदान गर्छन्।

हामीले अब ठीक बेठीक जे जस्तो भए पनि बहुदलीय प्रतिस्पर्धालाई अभ्यास गरिराखेका छौं। बहुदलीय प्रतिस्पर्धाको सुन्दरता भनेकै एउटा दल वा नेता असफल भयो भने जनताले अर्को दल र अर्को नेता छान्ने अवसर पाउँछ। बहुदीय प्रतिस्पर्धामा, संसदीय प्रजातन्त्रमा दलको असफलताको विकल्प स्वतन्त्र उम्मेदवार होइन। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। दलको विकल्प दल नै हो। त्यस कारणले गर्दा मलाई लाग्छ, यो जुन किसिमको एउटा स्वतन्त्रहरूको पक्षमा वकालत भएको सुनिन्छ। यो संसदीय प्रजातन्त्रको मर्म र महत्व नै नबुझेको जस्तो लाग्छ मलाई।

निर्वाचनपछि एमाले, कांग्रेस, माओवादी र राप्राको आकार कस्तो हुनसक्छ ?

यो चुनावमा मुख्य रूपले दुई शक्तिको बीचमा प्रतिस्पर्धा हुँदैछ। एकातिर नेकपा एमाले र उसका केही सहयोगी दलहरू छन्। अर्कोतर्फ पाँच दलीय गठबन्धन रहेको छ। यी दुवै शक्तिहरूका आफ्ना फरक फरक प्रवृत्ति र प्राथमिकताहरू छन्। यसको साथसाथै अहिलेको अवस्थामा यी दुई शक्तिहरूले केही मूलभूत मान्यताहरूलाई प्रतिनिधित्व गर्छन्। मेरो आफ्नो विश्लेषणमा नेकपा एमाले र उसका सहयोगी दलहरू राष्ट्रियता पक्षधर हुन्। शान्ति, स्थायित्व र समृद्धिका पक्षधर हुन्। अर्कोतर्फ सत्तामा पुग्नका निमित्त बाह्य शक्तिलाई रिझाउनुपर्छ भन्ने आत्मसमर्पणवादी अस्थिरता र अराजकताको पक्षधर रहेको छ। यी दुइटाको बीचमा जनताले एउटा शक्तिलाई छान्नुपर्ने स्थिति छ। यसैगरी यो चुनावबाट जनताले दुईमध्ये एक सरकार छान्नुपर्नेछ। तेस्रोको कुनै विकल्प छैन। या त केपी ओलीको नेतृत्वमा राष्ट्रिय स्वाभिमानमा आधारित राष्ट्रवादी सरकार वा बाह्य शक्तिको अभिप्रेरणामा खडा भएको गठबन्धनको कठपुतली सरकार। यी दुइटा विकल्पमध्ये जनताले एउटालाई छान्नुपर्छ। नेपाली जनता र देशको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै मलाई पूरा विश्वास छ कि बाह्य शक्तिको अभिप्रेरणमा खडा भएको गठबन्धनको कठपुतली सरकार जनताले रुचाउँदैनन्। र स्वाभाविमानी राष्ट्रवादी सरकारको पक्षमा जनताले पूर्ण बहुमत प्रदान गर्छन्।

तपाईंकै पूर्वसहयात्री दीपकबहादुर सिंह राप्रपाबाट प्रतिस्पर्धामा हुनुहुन्छ। तपाईंलाई म अप्ठ्यारो पहाड चढ्दैछु भन्ने लाग्दैन ?

स्थानीय चुनाव र संसदीय चुनावमा धेरै फरक हुन्छ। स्थानीय चुनावमा जनताले स्थानीय जनप्रतिनिधि छान्छन्। त्यहाँ धैरे स्थानीय विषय र मुद्दाले प्रभाव पार्छ। यो संसदीय चुनावमा राष्ट्रिय व्यक्तित्वको छनोट हुन्छ, नीति निर्माण गर्न सक्ने क्षमता र योग्यता भएका व्यक्तिहरू छानिन्छन्।

त्यसैले यसलाई स्थानीय निर्वाचको मत परिणामको आधारमा तुलना गर्नु सायद उपयुक्त हँुदैन। त्यसैलाई पनि आधार मान्ने हो भने नेकपा एमाले अहिले पनि मकवानपुर जिल्लामा सबैभन्दा धेरे मत प्राप्त गरेको पार्टी हो। अब मैले त्यही पार्टीसँग सहकार्य गरेको छु। मेरो पार्टी र म आफ्नै पनि बलियो जनाधार छ। यो स्थितिमा हामीलाई जित्न त्यस्तो कठिनाइ हुन्छ जस्तो लाग्दैन।

२०३८ सालदेखि २०७९ सम्म चुनावी दौडमा हुनुहुन्छ। तपाईं खेलाडी र साहित्यकार पनि। यो राजनीतिको खेलबाट संन्यास लिने बेला भयो जस्तो लाग्दैन ?

मेरो शारीरिक र मानसिक दृष्टिकोणले त म अझै लामो समय काम गर्नसक्छु भन्ने लाग्छ। मैले राजनीतिक बिश्राम लिनेबारे सोचेको छैन। जीवनको अन्तिम घडीसम्म देश र जनताको लागि काम गरिराख्छु। तर, चुनावी राजनीतिको दृष्टिकोणबाट मेरो यो अन्तिम चुनाव हो। यसपछि म प्रत्यक्ष चुनावमा सहभागी हुन्न। अन्नपुर्णपोष्टबाट