काठमाडौँ । मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभर घोटिएर कमाएको रकमले खाद्यान्न किनेर साँझ घर फर्कन्छन् ।
रामधारी कदमाहमै मजदुरी गर्दै छन् भने लखन गाउँलेसँग ३ हजार रुपैयाँ ऋण लिएर एक महिना अगाडि मजदुरीकै लागि भारतको पञ्जाब पुगेका छन् । अचम्म त उनीहरूको नाममा काठमाडौंको कलंकीस्थित आन्तरिक राजस्व कार्यालयमा पाँचरपाँच करोड कर तिर्न बाँकी छ ।
उनीहरूलाई कर कार्यालयले बक्यौता रहेको उक्त रकमबापतको मूल्य अभिवृद्धि कर र आयकर दाखिला गर्न पटकपटक पत्राचार गर्दै आएको छ । त्यतिमात्र होइन जिल्ला अदालत मोरङ र उच्च अदालत पाटनले पनि धेरै पटक १५ दिनभित्रमा हाजिर हुनु भन्दै पत्र काट्दै आएको छ ।
काठमाडौंको नागार्जुन–३ इचंगुनारायणमा रामधारीको नाममा डीएन इन्टरनेसनल र लखनको नाममा न्यु टिप इन्टरनेसनल नामको कम्पनी दर्ता भएको छ । न उनीहरूलाई ती कम्पनीबारे जानकारी छ न त कम्पनीले के काम गर्छ भन्ने थाहा छ । तिनै कम्पनीले दशकदेखि आयकर र मूल्य अभिवृद्धि कर नतिरेको भन्दै उनीहरूलाई राजस्व र अदालतले पत्राचार गरेको पाइएको छ ।
रामधारी र लखन कदमाहदेखि करिब ९ किलोमिटर पश्चिमस्थित विराटनगरमा सँगसँगै मजदुरी गर्न आउँथे र साँझमा साथै घर फर्कन्थे । त्यस क्रममा कहिलेकाहीं बाटोमा पर्ने कटहरीको जुडीघाटमा बसोबास गर्ने पुराना परिचित किसन यादवकहाँ कहिलेकाहीँ पस्थे । त्यहीं पनि बेलाबेला मजदुरी गर्थे । एक दिन उनीहरू यादवको घरमा पुगेका बेला २०६७ मा विराटनगर घर बताउने प्रकाश उप्रेती कामदार खोज्दै पुगे ।
काठमाडौं जानका लागि उप्रेतीले उनीहरूलाई नागरिकता बोक्न र पासपोर्ट साइजको फोटो खिचाउन भने । यसपछि उनैले गाडी भाडा तिरेर काठमाडौं पुर्याई बानेश्वरको एक होटलमा राखे । ‘त्यसको भोलिपल्ट काम गर्ने कम्पनी हो भन्दै फाराम भराए, एकएक प्रति फोटो टाँसेर ल्याप्चे लगाउन लगाए,’ रामधारीले भन्छन्, ‘नागरिकताको फोटोकपी पनि लगे ।’ उनका अनुसार यसपछि कलंकी लगेर एउटा बैंकमा खाता खोल्नुपर्छ भन्दै उनीहरूकै नाममा बैंक खाता पनि खोले ।
अर्को दिन दुवैलाई बैंकको एकरएक चेक बुकमा हस्ताक्षर गर्न लगाएर पाँचरपाँच लाख रुपैयाँ निकाले । ‘बैंकमा खाता खोल्ने क्रममा कर्मचारीले सोधीखोजी गर्दा लत्ताकपडाको आयातनिर्यातको काम हुँदै छ भन्न उप्रेतीले लगाएका थिए,’ रामधारी भन्छन् । यसपछि दुवैलाई बाँकी रहेको खाली चेकमा सही गर्न लगाइयो । उनीहरूले खुरुखुरु सही गरे । ‘त्यसपछि उप्रेतीले हामीलाई पाँचरपाँच हजार रुपैयाँसहित विराटनगर आउने गाडीको टिकट हातमा थमाउँदै काम सुरु भएपछि बोलाउँछु भनेर फर्काए,’ लखनले सुनाए ।
उनीहरू फर्किएर पुनः मजदुरी गर्न थाले तर उप्रेतीले कहिल्यै बोलाएनन् । रामधारीका अनुसार २०७० कात्तिकमा उनीहरूको नाममा राजस्व कार्यालयबाट पत्र आयो । पत्रमा उनले मूल्य अभिवृद्धि कर १ करोड ३६ लाख १८ हजार ९ सय ३५ र आयकर ९ लाख ६२ हजार २ सय ८८ रुपैयाँ तथा लखनले मूअकर १ करोड ८१ लाख ७१ हजार ३ सय ६६ र आयकर १४ लाख १७ हजार ८ सय ९३ रुपैयाँ पत्र पाएको १५ दिनभित्रमा दाखिला नगरे कानुनअनुसार कारबाही हुने उल्लेख थियो ।
‘पत्र पढेपछि दुवै झन्डै बेहोस भयौं,’ रामधारी भन्छन्, ‘हामी अशिक्षितलाई उप्रेतीले फसाएछ भन्ने बुझ्यौं, एक दिन मजदुरी नगरे खान पाइँदैन, त्यत्रो रकम कहाँबाट ल्याएर तिर्ने भन्ने तनावमा छौं ।’ कर कार्यालयले उनीहरूलाई फेरि दुई पटक पत्र पठाएको छ । अन्तिम पटक पठाएको पत्रमा दुवैले जरिवानासहित पाँचरपाँच करोड कर तिर्न बाँकी रहेको उल्लेख छ ।
रामधारीलाई उच्च अदालत पाटनले पनि १५ दिनभित्र हाजिर हुन आउनु भन्दै पत्र पठाएको छ । ‘गोजीमा एक किलो चामल किन्ने पैसा छैन, काठमाडौं पुग्ने अनि पाँच करोड कर तिर्ने कुरा कल्पनाबाहिरको कुरा हो,’ उनले भने, ‘केही अपराध गरेकै छैन, कहीं जान्न र भाग्दिन पनि, राज्यले पक्राउ गरेर लगे जान तयार छु, मजदुरी गरेर त्यत्रो रकम कसरी तिर्ने रु’ एक बित्ता पनि जमिन नभएका उनी गाउँपालिकाको ऐलानी जग्गामा बस्दै आएको छिमेकी सुनीलकुमार चौधरीले बताए । उनी र पत्नी बबिताले काम पाएको बेला दैनिक मजदुरी गरेर १ हजार ७ सय रुपैयाँ कमाउँछन् । सात सदस्यीय परिवारको पेट भर्छन् ।
लखन भने यहाँ गरेको मजदुरीले चार परिवारजनको निर्वाह गर्न हम्मे परेको भन्दै एक महिना अगाडि भारत लागेका हुन् । ‘हामी जस्तो सुकुम्बासीलाई करोडौंमा डुबाएर उप्रेती भागे,’ उनकी पत्नी गुडिनले भनिन्, ‘हाम्रो नाममा जमिन छैन, ऐलानी जमिनमा बसिरहेका छौं ।’ कान्तिपुरपोष्टबाट
Add Comment