पर्यटक गाडीमा कर्मचारी र पदाधिकारीको रजाइँ

काठमाडौँ । पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त विद्युतीय भ्यानरट्याक्सीमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी र बोर्डका पदाधिकारीले रजाइँ गरिरहेका छन् । विश्व सम्पदा स्थल लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन एसियाली विकास बैंकको अनुदानमा प्राप्त भएका १४ वटा भ्यानरट्याक्सी र पाँचवटा बसमध्ये ९ वटा भ्यानरट्याक्सी कर्मचारी र पदाधिकारीको निवास, बिहार र क्वार्टरमा छन् । बस पनि बिनायोजना अव्यवस्थित रूपमा सञ्चालन गर्दा बिग्रिएर थन्केका छन् ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र बोर्ड सदस्य विश्वराज पौडेलले एउटा–एउटा भ्यान चढिरहेका छन् । एउटा भ्यान लुम्बिनीस्थित सशस्त्र प्रहरीको बेसले प्रयोग गरिरहेको छ । त्यस्तै कोषको प्रशासन, सूचना र पुरातत्त्व शाखाका कर्मचारीले पनि भ्यान प्रयोग गरेका छन् । ‘जसले पायो, उसले चढिरहेको छ,’ कोषका एक अधिकृतले भने, ‘कुनै रेकर्ड छैन । जसको पहुँच भयो, उसले लगिरहेको छ ।

भ्यानरट्याक्सी प्रयोग गर्ने कुनै नीति–नियम छैन । परिवार घुमाउन, फोटो खिचाउन र बजारमा किनमेल गर्न भ्यान दुरुपयोग भइरहेको सर्वसाधारणको गुनासो छ । जसले पायो उसले लैजाँदा कतिपय भ्यान ठोक्काएर, कुच्याएर र सिसा फुटाएर राख्ने गरिएको छ । न सोधपुछ छ, न कोही चासो राख्छन् । नयाँ ल्याइएका भ्यान व्यवस्थित रूपमा प्रयोग नहुँदा टुटफुट भएर बिग्रन थालेको बताइएको छ । चार्जिङ स्टेसनमा रहेका पनि टायर पन्चर भएर थन्किएका छन् ।

लुम्बिनी विकास कोष सचिवालयले सूचना, प्रशासन, पुरातत्त्व शाखा र कोषाध्यक्षलाई भ्यान प्रयोग गर्न दिने निर्णय गरेको छ । अहिले कोष नेतृत्वले जसलाई मन लाग्यो, उसलाई दिइरहेको छ । भ्यानको दुरुपयोग बढेपछि कर्मचारी पनि असन्तुष्ट बनेका छन् । व्यवस्थापनले तत्काल नियन्त्रण नगरे साँचो खोसेर राख्न आफूहरू बाध्य हुने कर्मचारी युनियनका एक नेताले बताए । ‘जसले पायो उसले ट्याक्सी चलाएका छन्,’ ती कर्मचारीले भने, ‘आएर गाडी निःशुल्क चार्ज गर्छन् ।’ कोष भगवान् भरोसामा चलेको उनले आरोप लगाए ।

कार्यविधि नै नबनाएर जबर्जस्ती चलाइएका चारवटा बस बिग्रेर थन्किएका छन् । मंसिर ४ को चुनाव नजिकिँदै गर्दा मतदाता प्रभावित पार्न गृहमन्त्री बालकृष्ण खाँणले असोज ११ मा रूपन्देहीको बेलहियामा भाषण गर्दै विद्युतीय गाडी कोषले नसके सरकारले चलाउने बताएका थिए । गृहमन्त्रीको निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा असोज १२ मा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय तह, यातायात कार्यालय, उद्योगी र पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले असोज १३ देखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गर्‍यो । सेना, सशस्त्र, नेपाल प्रहरी र कोषका चालकले झन्डै एक महिनासम्म बस सञ्चालन गरेका थिए तर बिनायोजना अव्यवस्थित रूपमा सञ्चालन गर्दा बिग्रिएर थन्केका हुन् । दुई बसका तीन–चार ठाउँमा ठुल्ठूला सिसा फुटेका छन् । सिट च्यातिएका छन् । रंग खुइलिएका छन् ।

कार्यविधि, कानुनी जटिलता र सवारीसाधन कोषको नाममा नआएको भन्दै करोडौं मूल्यका ‘इलेक्ट्रिक भेइकल’ सञ्चालन गर्न कोषले अनिच्छा देखाउँदै आएको छ । दसैंका बेला पर्यटन मन्त्रालयबाट सवारीसाधन नामसारी भइसक्दा पनि कोषले चलाउन रुचि देखाएको छैन । कोषले आफैं गाडी चलाउँदा कर्मचारीलाई अप्रत्यक्ष लाभ नहुने हुँदा नेतृत्व तहका पदाधिकारी र कर्मचारीले खासै रुचि नदिएको सरोकारवालाको भनाइ छ । यता कोषले चलाउन नसक्दा जनस्तरमा आक्रोश बढेको स्थानीय पर्यटन व्यवसायी पिन्टु बनियाँले बताए । दाताले लुम्बिनीमा आध्यात्मिक वातावरणको अनुभूति गराई पर्यटक आकर्षित गर्न दिएका सुविधा प्रयोग गर्न नसक्नुमा कोषका पदाधिकारी दोषी रहेको बनियाँले भनाइ छ । ‘यो सामान्य कुरा होइन,’ उनले भने, ‘यसतर्फ सचेत नभए अन्य सहयोग पनि रोकिन्छ ।’

एकपछि अर्को समस्या आउँदा सञ्चालनमा समस्या भइरहेको कोषका सदस्य–सचिव शाक्यले बताए । ‘एउटा रंगको नम्बर प्लेट अर्कोमा परिवर्तन गर्न कानुन छैन,’ उनले भने, ‘हामीले सरकारी प्लेट पाएका छौं । त्यसमा भाडाका सवारी बोक्न मिल्दैन ।’ अब क्याबिनेटमा लगेर प्लेट परिवर्तन गरेर सञ्चालन गर्ने उनले बताए । भ्यानको दुरुपयोग भने नगरेको उनले बताए । २०७६ मंसिर ९ मा लुम्बिनी आइपुगेका विद्युतीय सवारीसाधन तीन वर्ष भइसक्दा पनि सञ्चालन हुन नसक्नु दुःखद् रहेको कोष परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए । ‘कसैलाई चुनाव जिताउन एक महिना बस चलाइन्छ,’ उनले भने, ‘स्वार्थ पूरा नहुँदा बस थन्किनुले लुम्बिनीप्रति दाताको विश्वास घट्दै गइरहेको छ ।’ एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँको लागतमा बस र ट्याक्सी भित्रिएका हुन् । नेपाल सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको थियो । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन–लैजान सुविधा होस् भनेर बस र ट्याक्सी ल्याइएका हुन् । लुम्बिनीलाई बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँसम्म आवतजावत गर्न सजिलो हुने, लुम्बिनीमा बढेको वातावरण प्रदूषण न्यूनीकरण गर्न पनि सहयोग पुग्ने भनेर बस सञ्चालनको योजना बनाइएको हो । ‘यहाँका ठुल्ठूला उद्योगका कारण दिनानुदिन प्रदूषण बढ्दो छ,’ लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले भने, ‘यसले पर्यटकलाई राम्रो सन्देश जान सकेको थिएन । त्यही भएर वातावरणीय समस्यालाई बढी संवेदनशील मान्ने विदेशी पर्यटकलाई लुम्बिनीका बारेमा सकारात्मक सन्देश जाओस् भने ड्रिम योजना थियो तर अहिले हामीलाई नै अप्ठ्यारो लागिरहेको छ ।’

अत्याधुनिक सवारीसाधन

विद्युतीय बस र ट्याक्सी अत्याधुनिक छन् । ठूला बसमा १९ सिट छन् । उभिँदा ३५ जनासम्म अटाउँछन् । साना भ्यान ५ सिटे हुन् । पूर्ण वातानुकूलित बस अपांगमैत्री छन् । स्वचालित ढोका छन् । आनन्ददायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाजरहित छ । एक पटक फुल चार्ज गरे ४ सय किमि गुड्छ । आपतकालीन ठूलठूला ढोका छन् । बस रोक्नका लागि सिटसिटमा बेलबटम छन् । थिच्नासाथ चालकछेउको बत्ती बल्छ । ‘लामो समयदेखि बस नचल्दा कोषको निक्कै आलोचना भइरहेको थियो,’ लुम्बिनी होटल संघका पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘अब आक्रोश बढ्दै छ ।’

१४ करोड रुपैयाँको लागतमा ट्याक्सी र बस चार्ज गर्न चार्जिङ स्टेसन तयार भइसकेको छ । पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । यिनमा ३ वटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकै पटक क्विक चार्ज गर्न सकिन्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधी घण्टा लाग्छ । बाँकी ३० वटा सामान्य चार्जर हुन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । ३० वटा जिप र कारका लागि हो । स्टेसनबाट एकै पटकमा १३ सवारीसाधन चार्ज गर्न सकिने जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए । लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पनि हो । कान्तिपुरोष्टबाट

ताजा अपडेट