काठमाडाैँ । अहिलेको मन्त्रिमण्डलभित्र राजा फाल्नेदेखि राजा ल्याउनखोज्ने सम्म छन्। कसरी यो सरकार चल्छ ?
प्रचण्डजीका लागि यो अन्तिम परीक्षणको घडी हो। यो नेतृत्वलाई झन् द्वन्द्व व्यवस्थान मुख्य चुनौतीका रूपमा उभिएको छ। विभिन्न सेक्टर, इन्ट्रेस्टका पार्टीहरू सरकारमा छन्। सबैका आ–आफ्ना माग छन्। त्यसलाई सम्बोधन पनि गर्नु पर्छ। यसलाई सम्बोधन र समाधान गर्न यी ३ कुरामा ध्यान दिनुपर्छ : पहिलो, संविधानअनुसार सरकार सञ्चालन हुनुपर्छ।
दोस्रो, समीकरणमा रहेका सबै पार्टीहरूको अध्यक्ष बसेर स्टेरिङ कमिटी बनाउनु पर्छ र तेस्रो, प्रचण्डजी पार्टीको अध्यक्षसँगै नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री पनि हुनुहुन्छ। त्यसैले उहाँले आफ्नो पार्टीको कुरो कार्यान्वयन गर्ने कि संविधान प्रदत्त अधिकारलाई लिएर सातवटै पार्टीबीचको साझा कार्यक्रम बनाउने विषयमा सोच्नुपर्छ। उहाँले पहिला संसद्बाट विश्वासको मत लिनुपर्छ।
प्रचण्डलाई सरकार चलाउन के–के चुनौती छ ?
संघीयता मान्ने र नमान्ने। गणतन्त्र मान्ने र उल्टाउन खोज्ने जस्ता प्रवृत्तिलाई गणितमा हन्डे«ड एटिडिग्री भन्छौं। त्यसैले उहाँलाई एक–अर्काका विपरीत शक्तिलाई एक ठाउँमा ल्याएर सरकार सञ्चालन गर्नु नै सबैभन्दा ठूलो चुनौती हो। यो चुनौतीसँगै प्रचण्डजीलाई ठूलो अवर पनि छ। दोस्रो संविधानसभाबाटसंविधान लेखिसकेपछि हालै दोस्रो चुनाव भयो। यसले सबै जनाले संविधानलाई मानेका छन् भन्ने जग बसालिदिएको छ। त्यसैले उहाँलाई सरकारमा रहेका सात दलको सरकार चलाउन अलि सहज हुन्छ।
चुनौतीसँगै उहाँलाई अवसरहरू के–के हुन् ?
मुलुक अहिले तीनवटा समस्याबाट ग्रसित छ। पहिलो भनेको सुशासनको समस्या हो। देशमा व्याप्त भ्रष्टाचार छ। अनिमितता छ। जनताप्रति नेताहरू जिम्मेवार छैनन्। त्यसैले सरकारले सुरुमा जनतामा सुशासनको प्रत्याभूति गराउनुपर्छ।
दोस्रो, संघीयता कार्यान्वयनको चुनौती छ। यो सरकारमा एमालेका अध्यक्ष केपी ओलीको मूल भूमिका भएकोले संघीयताअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको जुन अधिकारको बाँडफाँट र समन्वयकारी भूमिका पूरा गर्न चुनौती छ।
तेस्रो, पूर्वधार निर्माणका अधुरा काम। यसले गर्दा पूँजीगत खर्च कम भयो। विकासका काम अवरुद्ध छन्। त्यस्तै, शिक्षा र स्वास्थ्य अवस्था नाजुक छ। एकातिर गरिब जनताले उपचार गराउन नसकेर बन्धक बस्नुपर्ने र अर्कोतिर राज्यका पूर्वविशिष्ट व्यक्तिहरू राज्य कोषबाट करोडौं लिएर खर्च गरिरहेको देखिन्छ। शिक्षाको अवस्था बेहाल छ। अब मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको बेथितिलाई थोरै भए पनि समाधान गर्न सक्ने अवसर छ।
यो अवसर प्राप्त गर्न सहयोगीहरू छन् त ?
यसका लागि उहाँसँग ३ वटा कुरा छन्। पहिलो, उहाँसँग आफ्नै जीवनको अनुभव छ। चुनौती देखिएको क्षेत्रमा उहाँलाई सहयोग गर्ने बौद्धिक र वैज्ञानिक जनसहयोगी समुदाय पनि छन्। पार्टीभित्रको विभागहरू छन्।
- नेतृत्वले सातवटै पार्टीबीचको साझा कार्यक्रम बनाउने विषयमा सोच्नुपर्छ।
- नयाँ पार्टीको उदयले समाज र युवामा नयाँ परिवर्तनको सन्देश र संकेत दिएको छ।
- नीतिगत भ्रष्टाचारलाई प्रधानमन्त्रीजीले कमसेकम नियन्त्रण मात्रै गर्नसक्नुभयो भने तल आफैं न्यूनीकरण हुँदै जान्छ।
यी सबै पक्षलाई साथ लिएर अगाडि बढ्न सक्नुभयो उहाँका अगाडिका देखिएका चुनौती सजिलै पार गर्न सक्नुहुन्छ। थोरै सकारात्मक काम भयो भने पनि नेपाली जनताहरू खुसी हुनेछन्। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वधार, सुशासन, भ्रटाचार निवारणमा सन्देश मात्र पनि दिन सकियो भने जनता खुसी हुनेछन्।
तर, नेताहरूले काम गर्नुभन्दा पनि भ्रष्टाचारमा लाग्छन् भन्ने आरोप लाग्दै आएको छ ? प्रधानमन्त्री प्रचण्डलाई यो आरोप लाग्दैन कसरी विश्वस्त हुने ?
नीतिगत भ्रष्टाचारलाई प्रधानमन्त्रीजीले कमसेकम नियन्त्रण मात्रै गर्नसक्नुभयो भने तल आफैं न्यूनीकरण हुँदै जान्छ। यसलाई हामीले रोक्न सक्दैनौं। तर, नियन्त्रण र न्यूनीकरण गर्न सक्छौं।
पार्टीमा प्रचण्डजीका सहयात्रीहरू छिनभिन्न भए। यो अवस्थामा माओवादी नेतृत्वको सरकार कसरी सफल हुन्छ ?
महाधिवेसनबाट एउटा नेतृत्व चयन गरिएको छ। विभाग बनाइएको छ। विभाग प्रमुखहरूलाई प्रधानमन्त्रीजीले बोलाएर पार्टी र सरकारको पक्षमा काम गर्न लगाउनुपर्छ। जहिले पनि सरकार कमजोर हुनुमा, सरकार ढल्नुमा बाह्य तत्व होइन, पार्टी र सरकारबीचको सम्बन्धमा निर्भर हुन्छ।
कुनै पनि पार्टी सरकारमा गएपछि पार्टी र सरकारबीचको सम्बन्धलाई मिलाउनु, समन्वय गर्नु र समझदारी विकसित गर्नु आजको नेपालको राजनीतिमा सबैभन्दा ठूलो चुनौती देखापरेको छ। त्यसका लागि प्रचण्डजीले सरकारसँग कोर्डिनेट गर्न मुख्य राजनीतिक सल्लाहार राख्नुपर्छ। उसले पार्टीसँग हरेक विषयमा सल्लाह गर्नुपर्छ। मापदण्ड बनाएर सरकारी नियुक्ति गर्नुपर्छ। अहिले सबैभन्दा बढी असन्तुष्टि मान्छेहरूको राजनीतिक नियुक्तमा छ।
तेस्रोपटक प्रधानमन्धी भएर सरकारको नेतृत्व गर्न प्रचण्डजीले नै किन चाहना राख्नुभयो ?
कहिलेकाहीँ तपाईं खेलाडी भएपछि ‘गिभ मि ए चान्स’ भन्ने हुन्छ। यसअघि उहाँले देउवासँग गठबन्धन गर्नुभयो। उहाँमा प्रधानमन्त्री बन्ने एउटा मौका पाउँछु भन्ने थियो। उहाँले भन्नु पनि भयो। तर, त्यसो भएन। उहाँले एकचोटी मुलुक नेतृत्व गर्ने मौका पायो केही नयाँ गरेर देखाउँछु भन्ने थियो। त्यसैले उहाँले त्यो चाहना राख्नुभएको हो।
देउवाको नेतृत्वमा रहेको तत्कालीन सत्ता गठबन्धन भत्काउन को बढी दोषी देखिए त ?
जसरी खेलाडीलाई पेनाल्टी भयो भने कसले गोल हान्ने भन्ने हुन्छ, त्यस्तै इच्छा प्रचण्डजीले व्यक्त गर्नुभयो। तर, देउवाजीले पूरा गर्न सक्नु भएन। ओलीजीले त्यो इच्छाका लागि मार्ग प्रशस्त गरिदिनुभयो। त्यो मौका प्रचण्डजीले पाउनुभयो।
अब सुशासन, संघीयता, पूर्वधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी यो क्षेत्रमा काम गरेर जनतामा उत्साह जगाउनुभयो भने उहाँले गोल गरेको बुझिन्छ। नत्र मौका पाएर पनि बल अर्कैतिर गयो भन्ने हुन्छ र उहाँले जनताबाट विश्वास गुमाउनुहुन्छ। त्यसमाथि अहिलेको खस्किँदो अर्थतन्त्रलाई माथि उकास्नु उहाँका लागि पनि ठूलो चुनौती देखिएको छ।
प्रधानामन्त्री प्रचण्डले ‘ओली प्रतिगमनकारी हो’ भन्दै आएका थिए तर अहिले ओलीकै मुख्य समर्थनमा उनी सरकारमा छन् नि ?
देवाउजीसँग प्रचण्डजीको पहिलो दोस्ती थियो। पछि कटुतामा परिणत भयो। खास गरेर दुई÷चार दिनअघि नै प्रचण्डले एउटा सहमति कायम गरेर देउवाजीसँग प्रस्ताव गर्नु भएको थियो। तर, देउवालाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफैले लिने सोचे। त्यसैले उहाँ ओलीसँग गठबन्धन गर्नुभयो। यो सरकार र यो गठबन्धन कुनै किसिमको दारार, असम्झदारीले टुट्यो भने सबैभन्दा बढी घाटा एमालेलाई नै हुन्छ। जे भयो त्यो राम्रैका लागि भयो।
नयाँ पार्टीको संसद् प्रवेशलाई कसरी लिनु भएको छ ?
अहिले मैले कम्युनिस्ट पार्टीहरूलाई प्रगतिशील मात्रै भनेको छु। परिवर्तनको मुद्दा लिएर उदाएका नयाँ पार्टीले समाज र युवामा नयाँ परिवर्तनको सन्देश र संकेत दिएको छ। अहिलेको राप्रपा कमल थापावाला राप्रपा होइन जस्तो लाग्छ। राप्रपा अहिले अर्को कलेभरमा आएको जस्तो लाग्छ।
कस्तो कलेभर ?
राप्रपाले समाजका अरूलाई पनि लिएर हिँडेको छ। हिजो पञ्चहरूलाई लिएर हिँड्थ्यो। अहिले उदाएको जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी पूर्ण रूपमा परिवर्तनकारी शक्तिहरु यथास्थितिलाई स्वीकार नगर्ने खालको छ। संविधानलाई स्वीकार गर्ने तर, काम गर्ने जुन पुरानो तौरतरिका छ त्यसलाई अस्वीकार गर्दै परिवर्तनकारी शक्तिको रूपमा आएको छ। जसपा र जनमत पार्टीमा अलि फरक ढंगको परिवर्तन भएको छ। अहिलेको सरकार सप्तरंगी सरकार हो। कालो बादल लागेको बेला आकाशमा सप्तरंगी देखियो भने त्यसको शोभा बेग्लै हुन्छ। त्यसैले यो सरकार विविधतामा एकता पनि हो।
सरकारमा रहेका पार्टीबीच पावरसेयेरिङ कसरी हुन्छ ? कसले केकेमा दाबी गरिरहेका छन् ?
मोटामोटी राष्ट्रपति र सभामुख एमालेले लिन्छ। यसमा प्रचण्डजीले सहमति जनाइसक्नु भएको छ। उपराष्ट्रपति र उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतको बारेमा त्यति बलियोसँग कुरा भएको छैन। सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले लिन्छ जस्तो सम्भावना छ। विभिन्न पार्टीहरूले दावी गर्नु र एउटा सहमतिमा पुग्नु अलग कुरो हो। पार्टीका नेताहरू सहमतिमै टुंग्यानुहुन्छ। नेताहरू कुनै नीतिगत वा कुनै फर्मुला निकाल्नुहुन्छ। मिलाउनुहुन्छ। सातै प्रदेशमा पार्टीहरूले प्राप्त गरेको सिट संख्याको आधार मिलाउँछन् या नीतिगत सहमति हुन्छ। कुनै मापदण्ड बन्छ।
प्रदेश, जिल्ला स्थानीय तहमा पार्टीको संरचना खडा हुन सकेको छैन ? अब पार्टी कसरी चल्छ ?
अहिले धेरै प्रदेशहरू प्रदेश समितिहरू बनिसकेको छ। पार्टी महासचिव देव गुरुङले दैनिक काम काज हेर्न सुरु गर्नुभएको छ। संगठन विभागको बैठक पनि पुस १७ गते राखिएको छ। अन्नपूर्णपोष्टबाट
Add Comment