लठ जी आज्ञा गर्नु हुन्छ, हे बैरी हो । आज भन्दा ठीक ७३ बर्ष अघि नेपालमा प्रजातन्त्र आएको दिन । यो ७३ वर्षको अवधिमा यो प्रजातन्त्रको विकसित भएर पर ऽ जा ऽ तन्त्रका रुपमा परिवर्तन भएको देखिन्छ । सात सालमा जुन संघर्ष र बलिदानबाट प्रजातन्त्र आयो । अहिले त्यसको कुनै मूल्य नै भएन ।
१ सय ४ बर्षिय जहाँनिया राणा शासन अन्त्यका लागि धेरैले बलिदानी दिए । विचार र सिद्धान्त अनि देश बाहेक केही पनि सोच्दैनथे, त्यसबेला जनताको परिवर्तन चाहने नेतृत्वहरु । व्यवस्था पनि परिवर्तन भयो अवस्थामा पनि क्रमश परिवर्तन भयो । तर, अहिले त्यसको ठिक उल्टो भएको छ । अघिल्लो अध्यायमा मैले बैरीहरुलाई सुनाएको थिए । जनताको परिवर्तनका लागि लागेको सालिक भयो । सत्ता र मालिकका विरुद्ध उत्रिएको जस्तो गरेका व्यक्ति आफै मालिक भयो ।
नेपालभन्दा गरिव अनि अरुको शासनमा बसेका देशहरु यही ७० वर्षको अवधिमा निकै रुपान्तरण भए । देश सक्षम बन्यो, जनता समृद्ध बने विकासको परिवर्तन निकै नै चुलियो । तर नेपालमा न त देश सक्षम भयो न त जनता समृद्ध बने न त विकासमा नै परिवर्तन भयो । बरु देश र जनताका लागि भन्नेहरु आफै परिवर्तन भईदिए ।
लठजीको आज्ञा सुनेर वैरीहरु विन्ति गर्दछन्, ‘लठ महाराज आजको २१ औं शताब्दी अनि प्रजातन्त्र ल्याएको ७३ वर्षमा पनि हाम्रो देश किन परिवर्तन हुन सकेन विन्ति गर्नु होस् । ’
बैरीहरुको कुरा सुनेर लठजी आज्ञा गर्नुहुन्छ,, तिमीहरुले मनासिव कुरा राख्यौं । यसमा तिमीहरुको पनि दोष छ । प्रजातन्त्र प्राप्तिको केही वर्ष तिम्रा पुर्खाहरुले साँच्चै नै संघर्ष गरे । करीव १० वर्ष जनताले आफ्नो अधिकार प्राप्त गरिहँदा फेरि १७ सालमा शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद विघटन गरी निर्दलीय पञ्चायत व्यवस्थाको घोषणा भयो । दलहरु माथि प्रतिवन्ध लगाउँदै मुख्य राजनीति दलका प्रमुख नेताहरुलाई जेल हालियो ।
लठ महाराजको आज्ञा सुनेर बैरीहरु फेरि विन्ति गर्छछ । महाराज त्यसो भए दलका नेताहरुलाई जेल हालेपछि के भयो त सरकार नै रहेन त ?
मुसुमुुसु हाँस्दै लठजी आज्ञा गर्नु हुन्छ । त्यसो होइन तात्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कु’ गरेपछि पुस १२ गते राजा महेन्द्रले आफ्नै अध्यक्षतमा नयाँ मन्त्रीमण्डले गठन गरे । दलहरुमाथि प्रतिवन्ध गरेका कारण र नेताहरु जेल जीवन विताउन थालेपछि २०१८ सालमा नेपाली काँग्रेसले पटना सम्मेलन गरी शसस्त्र विद्रोह गरेको थियो ।
सोही विद्रोहकै परिणाम जनकपुर भ्रमणमा रहेका राजा महेन्द्रमाथि २०१८ माघ ९ गते बम प्रहार भयो । राजा चढेका गाडीमा थोरै क्षति भएपनि राजालाई केही भएन । राजालाई बम प्रहार गर्ने दुर्गानन्द झा फरार भए । उनका परिवारले निकै कष्ट र दुख भोग्नु परेको थियो । उनका परिवार मात्र होइन छिमेकी र इष्टमित्र र कांग्रेसका ५६ जनालाई निकै कष्ट दिएपछि झाले गिरफ्तारी दिएका थिए । पछि उनलाई २०२० माघ १५ गते मध्यराती मृत्युदण्ड दिइयो । त्यो काण्ड जनकपुर बम काण्डले चर्चित भएको छ ।
तर राजा महेन्द्रले दलहरुमाथि प्रतिवन्ध गरेर विकासको नमूना देखाउन र जनतालाई प्रभाव पार्न २०१८ साल माघ महिनामा नै महेन्द्र राजमार्ग निर्माण शुरु गरी २०२२ सालमा उद्घाटन गरे । त्यही राजमार्ग अहिले तिमीहरुले प्रयोग गरिरहेका छौं ।
त्यसपछि के भयो त ? बैरीहरु प्रश्न गर्छन् ।
तिमीहरुलाई धेरै जिज्ञासा लागेको रहेछ । त्यसो भए लौ सुन । विदेशी इशारामा प्रजातन्त्र गुम्यो । १७ सालदेखि निरंकुश पञ्चायती व्यवस्थाको शुरुवात भयो । तर त्यसका विरुद्ध पनि आन्तरिक रुपमा संघर्ष नभएको भने होइन । नेपाली कांग्रेसले सशस्त्र विद्रोह नै गरेको भनि सके । त्यो सशस्त्र विद्रोह ठिक छै भन्ने पार्नका लागि महेन्द्रले २०१९ साल पुस १ गते संविधान जारी गरे । नयाँ मुलुकी ऐन २०२० सालमा लागू गरे अनि भूमिुसधार व्यवस्था २१ सालमा जारी गर्दै गाउँ फर्क अभियान नै सञ्चालन गर्न भ्याए । महेन्द्र दुरदर्शि राजा थिए । त्यसैले २०२४ सालमा राजवन्दीका रुपमा रहेका वीपीलाई रिहा गरे । उनको २०२८ साल माघ १७ गते निधन भयो ।
त्यसपछि के भयो ? ‘प्रजातन्त्र आयो त?’ बैरीहरुले प्रश्न गरे ।
लठ जी भन्छन्, २०२८ सालमा आएर नेपाली कम्युनिष्टहरुले ‘बर्गशत्रु खत्तम’ अभियानका रुपमा झापा जिल्लामा सामन्त भन्दै केही नागरिकहरुको हत्या गरे । तर पनि परिवर्तनको संकेत देखिएन बरु नयाँ राजाका रुपमा सिंहासनमा बसेका वीरेन्द्रले मुुलुकलाई २०३१ साल फागुन १३ गते शान्ति क्षेत्रको प्रस्ताव गरे । पञ्चायतको अन्त्यसम्म आईपुग्दा १ सय ३१ देशले सर्मथन गरे । अमेरिका लगायत विश्वका प्रमुख राष्ट्रले मान्यता दिए तर छिमेकी भारतले आफ्नो नीति अनुकूल नभएको भन्दै समर्थन गरेन ।
त्यसबेला राजा बीरेन्द्रले उनका बाबु महेन्द्रले शुरु गरेको दलविहीन पञ्चायती व्यवस्थाको सवैतिरबाट विरोध भएपछि ३६ सालसम्म आइपुग्दा जनमत संग्रह घोषणा गरे । प्रजातन्त्र प्राप्तिका लागि संस्थागत रुपमा नै दलहरु लागि परे । भूमिगत शैलीमा कांग्रेस,कम्युनिष्ट आआफ्नो विचार लिएर जनताका दैलोमा जान थाले ।
पञ्चायती शासनमा रमाउने शासकहरुले न त कांग्रेसलाई टे¥यो । न त कम्युनिष्टलाई नै देख्न सक्यो । एकातिर भूमिगत रुपमा राजनीतिक दलहरु प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरिहँदा पञ्चायती शासकहरुले भने दरबारलाई सुधारिएको पञ्चायतको नारा दिएर जनमत संघर्ष गराउने प्रयत्न गरे । जनतामा प्रजातन्त्र की सुधारिएको पञ्चायत छान्ने भन्न लगाइयो । राजा बीरेन्द्रले ३७ सालमा जनमत संग्रह घोषणा गरी २०३७ सालको वैशाख २० गते जनमत संगहका लागि मतदान भयो । त्यसमा जनताले पञ्चायतलाई नै जिताए । तर कांग्रेस, कम्युनिष्ट बहुदलकै पक्षमा थिए । त्यसपछि कांग्रेसले २०४२ सालमा सत्याग्रह शुरु गर्यो भने त्यही वर्ष २०४२ सालमा सिंहदबारमा बम काण्ड भयो ।
ओहो ! सिंहदबार भित्रै बमकाण्ड ? बैरीहरु जिब्रो टोक्दै लठजीलाई सोध्छन् । त्यसपछि के भयो त ?
त्यसपछि भारतीय राजनीतिज्ञहरुको समर्थन प्राप्त गरेको नेपाली कांग्रेसले एक्लै पञ्चायती शासनको विरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी ग¥यो । कांग्रेसले आन्दोलनको घोषणा गरेपछि अर्को तर्फ माले लगायत १२ वटा बामपन्थी दलहरु मिलेर बृहत आन्दोलन गर्ने सम्झौता गरेर २०४६ माघ २ गते सहाना प्रधानको नेतृत्वमा मोर्चा गठन भयो । त्यसमा बाबुराम भट्टराई पनि जोडिन आईपुगे । त्यही वर्ष फागुन ७ गतेदेखि जनआन्दोलनमा ओर्लिने निर्णय काग्रेसले गरेको थियो ।
बैरीहरु जिज्ञासा गर्छन्, त्यसो भए फागुन ७ मा कांग्रेस आन्दोलनमा आयो त ?
बहुदलीय प्रजातन्त्र प्राप्तिकै लागि संघर्ष गरिरहेको बाम मोर्चा सहित कांग्रेस पनि आन्दोलनमा होमिए । आन्दोलनको आँधी राजसंस्थाले रोक्न सक्ने अवस्था आएन । त्यसपछि राजा बीरेन्द्रले तात्कालिन प्रधानमन्त्री मरिचमानलाई हटाए, लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । र पनि नभएपछि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर २०४७ साल कार्तिक २३ गते नयाँ संविधान बीरेन्द्र राजाको शाही घोषणा मार्फत बहुदलीय प्रजातन्त्रको पुर्नस्थापन भयो । तर २०४६ सालमा जनआन्दोलन मार्फत प्राप्त प्रजातन्त्र आज आईपुग्दा जनताका लागि परऽ जाऽ तन्त्रमा विलिन बन्ने पुगेको छ बुझ्रयौ? लठजीको कुरा सुनी बैरीहरु न्याउरो अनुहार लगाउँदै टाउको हल्लाउँछन् । -बैकुण्ठ भण्डारी