काठमाडौं । सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले गरेको व्यवहारबारे फरक–फरक दाबी प्रस्तुत भएका छन् ।
लामिछानेले आफू सुतेका बेला मध्यरातमा उठाएर पोखरा लगिएको भन्दै मानवअधिकार आयोगलाई समेत गुहारेका छन् । प्रहरीले भने चितवनमा साँझ अबेर बयान सकिएपछि आफन्तसँग भेट गराएर पोखरातर्फ लगिएको दाबी गरेको छ ।
यसैबीच सहकारीपीडितका अगुवाले इजलासमै उपस्थित भएर लामिछाने गृहमन्त्री हुँदा आफूहरूको आवाज दबाएको भन्दै प्रहरी अनुसन्धान प्रभावित हुन नदिन निवेदन गरेका छन् ।
आइतबार कास्की अदालतमा आफ्नो पक्ष राख्दै लामिछानेले चितवनबाट पोखरा लग्दा आफूमाथि दुर्व्यवहार भएको दाबी गरे । ‘हिरासत चिसो भएकाले रातभरि सुत्न सकेको थिइनँ, दिनभरि बयान दिएँ । राति सुतेका बेलामा उठाएर प्रहरीले पोखरा लग्यो, प्रहरीले ममाथि दुर्व्यवहार गर्यो । परिवार, मेरो पार्टी र मेरा वकिललाई कुरा गर्नसमेत नदिई रातारात लगियो,’ लामिछानेले भने ।
रास्वपाले पनि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेको भन्दै आपत्ति जनाएको छ । ‘दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई सुतिरहेका बेला अचानक मध्यरातमा उठाई सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको रहेछ,’ रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ, ‘सरकारको यो कदम राज्य संयन्त्र दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो ।’
तर चितवन प्रहरीले भने लामिछाने र रास्वपाको दाबी खण्डन गर्दै भ्रम नफैलाउन सबैलाई आग्रह गरेको छ । भरतपुरमा बुधबार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ । बुधबार चितवन प्रहरी कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो ।
चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बयान भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भीड प्रवेश गर्न खोज्नेजस्ता कार्य भएको, हवाई उडानका लागि मौसम प्रतिकूल रहेको हुँदा उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको थियो ।’
‘बयानको दिन भएको झडपमा रास्वपा कार्यकर्ताको प्रहारबाट १३ प्रहरी घाइते भएको र अर्को दिन पनि झडप हुने सम्भावना भएकाले लामिछानेलाई सम्मानजनक हिसाबले राति नै पोखरा पठाइएको हो,’ एक वरिष्ठ अधिकारीले भने, ‘कानुनबमोजिम सुरक्षा सतर्कता अपनाएर डीएसपीको नेतृत्वमा चितवनबाट सुरक्षित रूपमा उनलाई पोखरा पुर्याएको हो ।’
काठमाडौंमा कात्तिक २ मा पक्राउ परेको साँझ जहाजबाट पोखरा लग्न खोजे पनि लामिछानेले आफैं बल गरेर सडकबाट गएको दाबी गर्दै एक प्रहरी अधिकारीले भने, ‘२० मिनेटको हवाई यात्राको सुविधा हुँदाहुँदै लामिछानेले रातभरि यात्रा गर्दै सडकबाटै जान जोड गरेका थिए, त्यतिबेला पनि सडकमा कार्यकर्ताको भीड जम्मा हुन्छ भन्ने उनको अपेक्षा थियो, यसपालि पनि बिहान कार्यकर्ताले अवरोध गर्छन् भन्ने आस थियो, त्यो पूरा नभएकाले उनले भ्रम फैलाएका हुन् ।’
प्रहरी र लामिछानेको आआफ्नो दाबीबारे आइतबार कास्की अदालतमा समेत बहस भएको छ । सहकारीपीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानुन व्यवसायी युवराज पराजुलीले बहस गरेका थिए ।
उनीहरूले प्रहरीले अभियोगपत्रको अन्तिम तयारी गरिरहेको र प्रमाण बुझ्न आवश्यक रहेको भन्दै म्याद थपको माग गरेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरू हरि सुवेदी र नारायण कँडेलले बहस गरेका थिए ।
उनीहरूले लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको, म्याद थपको औचित्य नभएको तर्क गरे भने हिरासतमा अमानवीय व्यवहार गरिएको पनि दाबी गरे । इजलासमा लामिछानेले काठमाडौंमा चिसो कोठामा बस्नुपर्दा निद्रा नपरेर टाउको दुखिरहेको अवस्थामा चितवन पुर्याइएको, त्यहाँ अस्पताल लैजान गरेको आग्रहलाई वास्ता नगरिएको र सिटामोल खाएर ८ घण्टा बयान दिएको बताएका थिए ।
मानवअधिकार हनन भएको विषयसँगै लामिछानेले हिरासतको गुणस्तर र प्रहरीको क्षमतामा पनि प्रश्न उठाएका छन् । लामिछानेको उक्त भनाइमा पीडिततर्फका जाहेरवाला कृष्ण जैसीले दुईपल्ट गृहमन्त्री हुँदा हिरासतको गुणस्तर र प्रहरीको व्यावसायिकता किन नसुधारेको भनेर प्रतिप्रश्न गरेका थिए ।
‘गृहमन्त्री हुँदा एउटा कार्यविधि बनाएको भए हिरासत कक्षलाई मानवअधिकारमैत्री बनाउन सक्नुहुन्थ्यो, प्रहरी क्षमता नभए तालिम दिन सक्नुहुन्थ्यो, यो रोइकराइ गरेर अदालतसामु मागेर पाइने चीज पनि होइन,’ उनले इजलासमा भने, ‘जुन प्रहरीले आफूलाई १२ बजे उठायो भन्नुभएको छ, सहकारीपीडितको नेतृत्व गरेर मैले पनि न्याय माग्दा मलाई पनि ४ बजे उठाउने आदेश गर्नुभएको हो । जाहेरवालालाई सादा पोसाकका प्रहरीले उठाउन खोजेको हो । उहाँ गृहमन्त्री नै हुँदा पीडितलाई जिल्ला प्रहरी कार्यालयभित्रबाट उठाएर गेट बाहिर लगेर फालिएको हो ।’
जैसीले सुरुदेखि नै बचतकर्ताले आफ्नो बचत फिर्ता मागेको बताए । ‘म जहाँ गए पनि मेरो पैसा माग्न आएको हो भनेको छु, जहाँ गए पनि हामीले पैसा फिर्ता पाउनुपर्यो भनेका छौं,’ उनले भने, ‘अदालतमा पनि पैसा माग्न आएका हौं । यो कुरा सत्य हो । हामीलाई फैसलाको खोस्टा चाहिएको होइन, रगत–पसिना एक गरेर कमाएको पैसा चाहिएको हो ।’
लामिछानेले आफूलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गरेका थिए । सहकारीपीडितका अगुवा जैसीले भने आरोपितलाई बाहिर छोड्दा प्रमाण नष्ट हुन सक्ने तर्क गरे ।
‘भोलि सरकार परिवर्तन भएर रास्वपा सरकारमा जाँदा फेरि मुद्दा तामेलीमा राख्न सक्छन् । महान्यायाधिवक्ताको कार्यालयलाई समेत प्रभाव पार्न सक्छन्,’ उनले भने, ‘राजनीतिक सहमति गरेर हाम्रो मुद्दा विषयान्तर गर्न सक्छन् । पहिला होइनरछैन भनेर तामेलीमा राखेजस्तै गर्न सक्छन् । पासपोर्ट काण्ड, नागरिकता काण्डलगायत काण्डैकाण्ड भएकाले भाग्न सक्छन् । जाहेरवालामाथि पनि प्रहार गर्न सक्छन् ।’
जैसी बोलिसकेपछि लामिछानेले हात उठाएर पुनः आफू बोल्न चाहेको इसारा गरे । न्यायाधीशले उनलाई पुनः मौका दिए । लामिछानेले आफू निस्केकै दिनबाट बचतकर्ताको रकम फिर्ता गर्न लागिपर्ने बताए । न्यायाधीश हिमलाल बेलबासेले लामिछाने र जोशीको स्वास्थ्य जाँच गर्न र प्रहरीले थुनुवाको मानवअधिकारमा ख्याल पुर्याउनुपर्ने आदेश गरे । न्यायालयले कसैलाई काखा, कसैलाई पाखा नगर्ने बताउँदै तथ्य र प्रमाणका आधारमा फैसला हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।
लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश बेलबासेको इजलासले उनीसहित छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गरेको हो ।
लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला पोखराको सूर्यदर्शन सहकारीबाट अवैधानिक रूपमा रकम लगेको देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको हो । रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीबाट समेत त्यसरी गोर्खा मिडियामा रकम गएकाले त्यहाँसमेत अनुसन्धान भइरहेको छ ।
रूपन्देही, काठमाडौं र चितवनका जिल्ला सरकारी वकिल कार्यालयमा उनले बयान दिएका छन् भने पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
Add Comment