सरकारी वार्ता टोली र ‘नो केबलकार’ समूहबीच ६ बुँदे सहमति , आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । सरकारी वार्ता टोली र ‘नो केबलकार’ समूहबीच भएको वार्तामा सहमति जुटेको छ । ललितपुरको होटेल हिमालयमा मंगलबार भएको सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगको वार्तामा ६ बुँदे सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।

आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्न सरकार सहमत भएको छ ।

आन्दोलनकारीका वार्ता टोलीका एक सदस्यकाअनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माणकार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ । अर्को वार्ता माघ २७ गते बिहान ११ बजे बस्ने पनि दुई पक्षबीच सहमति भएको छ ।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमतिपत्रमा उल्लेख छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले केबलकार निर्माणपप्रति असहमति जनाउँदै यातायात समेत बन्द गरी आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनरत समूहले कोसी प्रदेशको अरुण पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेहृथुम गरी नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको थियो । बन्दका क्रममा झापाको दमक र सुनसरीको इटहरीमा झडपसमेत भएको थियो ।