काठमाडौं । गएको एक महिनामा देशभर भएका आगलागीका घटनामा ६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार मृतकमध्ये एक पुरुष, चार महिला र एक बालक रहेका छन्। साथै, घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र ३ बालिका घाइते भएका छन्।
नेपालभर गएको एक महिनामा ५०१ आगलागीका घटना दर्ता भएका छन्। आगलागीका कारण ८७ घर र ५७ गोठ जलेर नष्ट भएका छन् भने १४६ पशुचौपायाको मृत्यु भएको छ। घटनापछि ३८ परिवार विस्थापित भएका छन्। आगलागीका कारण अनुमानित रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ।
अधिकारीहरूका अनुसार आगलागी नियन्त्रणका लागि ३,६१४ प्रहरी परिचालन गरिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी १३५ आगलागीका घटना कोशी प्रदेशमा भएका छन्। मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौं उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३०, र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना भएको छ।
वर्षा कम हुनु र सुक्खा मौसमका कारण आगलागीका घटना बढ्दै गइरहेको बताइएको छ। आगामी दिनहरूमा आगलागीको जोखिम अझै बढ्न सक्ने भएकाले गृहमन्त्रालयले सतर्क रहन सबैलाई आग्रह गरेको छ।
Add Comment