काठमाडौंमा भोलि गणतन्त्रवादी र राजावादीको प्रदर्शन, सुरक्षाको विशेष व्यवस्था

काठमाडौं । गणतन्त्रवादी र राजावादी समूहले चैत १५ गते काठमाडौं उपत्यकामा एकैदिन र एकै समयमा प्रदर्शनको तयारी गरेका छन्। उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्दै सभा गर्ने उनीहरूको योजना रहेको छ।

गणतन्त्रवादीहरूको नेतृत्व समाजवादी मोर्चाले लिएको छ, जसमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सामेल छन्।

राजावादीहरूको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरिरहेका छन्, तर शुक्रबारको प्रदर्शनको मुख्य कमाण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सम्हाल्ने भएका छन्।

प्रशासनले दुवै समूहलाई आमने–सामने हुन नदिने रणनीति अपनाएको छ। त्यसैले गणतन्त्रवादीहरूलाई प्रदर्शनीमार्गमा र राजावादीहरूलाई तीनकुनेमा सभा गर्न अनुमति दिइएको छ।

यस्तो अवस्थामा सुरक्षालाई लिएर उच्चस्तरीय छलफलसमेत भएको छ। सुरक्षा चुनौतीबारे समीक्षा गर्न चैत १० गते गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा र गृह मन्त्रालयका सहसचिव सहभागी थिए।

बैठकले १५ चैतमा हुने प्रदर्शनलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा रणनीति तयार गर्न निर्देशन दिएको थियो। सुरक्षाका लागि विशेष व्यवस्था मिलाइसकिएको अधिकारीहरूले बताएका छन्।