काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले पुराना पञ्चहरूलाई पन्छाउँदै राजावादी आन्दोलनको नेतृत्व लिएका छन्। पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राजसंस्था पुन:स्थापनाको पक्षमा राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रसाईंको नेतृत्वलाई स्वीकार्दै आन्दोलनमा सहभागी भएका छन्।
चैत ४ गते प्रसाईंको अगुवाइमा राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष तथा राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो। तर, गठनलगत्तै यो समिति विवादमा तानियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू समितिमा नरहेको स्पष्ट पारेका थिए। राप्रपाको कार्यसम्पादन समितिले पार्टीलाई कुनै व्यक्ति विशेषको नेतृत्वमा नलैजाने निर्णय पनि गरिसकेको थियो।
यसअघि नै प्रसाईंले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेका थिए। आफूलाई राजावादीहरूको साझा नेता बनाउन खोजेका सुवेदीले आन्दोलनको स्वामित्व मात्र लिएका छैनन्, उनले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डरसमेत घोषणा गरेका छन्। सुवेदीद्वारा जारी विज्ञप्तिमा चैत १५ गतेदेखि सुरु हुने आन्दोलन समितिले अपनत्व लिएको उल्लेख छ। साथै, चैत १७ गतेबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनले जनाएका छन्।
राप्रपाले पनि प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गर्दै उनको नेतृत्वलाई स्वीकार गरेको छ। सार्वजनिक मञ्चहरूबाटै राप्रपा र तिनका नेताहरूको आलोचना गर्दै आएका प्रसाईंको नेतृत्वलाई स्वीकृति दिँदै, राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले कार्यकर्ताहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन आह्वान गरेका छन्।
राप्रपाले आफ्नै कार्यक्रमअन्तर्गत चैत २६ गते उपत्यकामा सभा गर्ने तथा वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ। प्रशासनले चैत १५ गतेको लागि राजावादीहरूलाई काठमाडौंको तीनकुनेमा सभा गर्न अनुमति दिएको छ।
Add Comment