केआईआईटी विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव फेला

काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा अध्ययनरत अर्की नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्।

वीरगन्ज घर भएकी छात्रा प्रिसा साह बिहीबार साँझ केआईआईटीको छात्रावासको चौथो तलामा रहेको कोठाभित्र मृत फेला परेको नेपाली दूतावासले पुष्टि गरेको छ।

नेपाली दूतावासका अनुसार साँझ करिब साढे ७ बजे नियमित निरीक्षणको क्रममा ढोका नखोलेपछि प्रशासनले जबरजस्ती कोठा खोलेको र ती छात्रा भित्र मृत अवस्थामा भेटिएकी थिइन्। घटनाबारे प्रारम्भिक जानकारी विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टमार्फत दूतावासलाई दिइएको नेपाल प्रहरीका एसएसपी सन्जिव शर्माले जनाएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको शर्माले बताए ।समर भ्याकेसन भएकाले अधिकांश विद्यार्थी घर फर्किएका छन्। मृतक साह बिटेक प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी हुन्।

केआईआईटी विश्वविद्यालयमै केही महिना अघि, फागुन ४ गते, रुपन्देहीकी प्रकृति लम्साल पनि छात्रावासमै मृत फेला परेकी थिइन्। छोटो अवधिमा दुई नेपाली छात्राको मृत्युले विद्यार्थी र अभिभावकहरूमा गहिरो चिन्ता थपिएको छ।

यस घटनाको विस्तृत छानबिनको माग गरिएको छ। नेपाली दूतावासले घटनाको पछिल्लो विवरण संकलन गरिरहेको जनाएको छ।