प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुक गम्भीर संकटमा परिरहेकाले निर्वाचन अघि नै सवैको साझा समस्या समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । ७६औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाऊँ भन्ने सोचले होइन, मिलेर काम गरौं भन्ने कर्तव्य बोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिने उनको भनाई छ । अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको दुःखद परिस्थितिमा मुलुक रहेको उनले बताएका हुन् ।

उनले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित हुने बताए । राष्ट्रिय सहमति र सबैलाई समेटेर निर्वाचनमा जाँदा त्यसले सही बाटो समात्ने उनको विश्वास छ ।

प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हो,उनले भनेका छन्, प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचन पछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो।