गहना लुट्न नातिले गरे हजुरआमाको हत्या

धनगढी । बझाङमा गहना लुट्नका लागि नातिले हजुरआमाको हत्या गरेका छन्।

बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए। रिखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन्।

वडाध्यक्ष रामबहादुरले सबै आफन्तकहाँ सोधखोज गरिसकेको र घरको तेस्रो तलामा रगतका छिटा फेलापारेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। साथै, उनले घरको बारीमा खनेको जस्तो आलो माटोसमेत फेला पारेको भन्दै प्रहरीलाई बताएका थिए।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी बझाङको टोली भदौ ३१ गते गाउँमा पुगेको थियो। प्रहरी टोलीले सूक्ष्म रूपमा घटनास्थलको अनुसन्धान गर्दा घरको तेस्रो तलामा घटना घटेको तथ्या फेला पार्‍यो। साथै, हत्यापश्चात् शव तानेर घरको पूर्वतर्फ रहेको बारीमा लगेको प्रमाणसमेत प्रहरीले फेला पारेको थियो।

नभन्दै उक्त आलो माटो भेटिएको ठाउँमा खन्दा रिखीदेवीको शव फेला पर्‍यो। उक्त घटनापछि रामबहादुरका छोरा अर्थात् रिखीदेवीका नाति सुवास बेपत्ता थिए। प्रहरीलाई उनीमाथि नै शंका लाग्यो।

मोबाइल लोकेसन हेर्दा सुवासको मोबाइल सोही गाउँपालिका–७ स्थित लौवादेव डाँडामा देखाइरहेको थियो। त्यसपछि प्रहरी टोलीले उनलाई त्यहीँबाट समात्यो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार सुवासलाई सोधपुछ गर्दा हजुरआमाले नाक र कानमा लगाएको मुद्री लुट्न हत्या गरेको स्वीकार गरेका छन्।