महानगर दिवस कै दिन विभागिय प्रमुख सहित पाँच जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २७ औं स्थापना दिवस मनाईरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने विभागिय प्रमुख सहित पाँच जनालाई भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुन्धान आयोगले काठमाडौ महानगरपालिकाका वडा नं. १२ टेकुस्थित भवन निर्माण गर्ने ठेक्कामा आर्थिक प्रलोभनमा परी कागजपत्र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।
रिसालद्धारा जारी विज्ञप्तिमा सार्बजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा टेकु स्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मुल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप निर्देशक बखत बहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको देखिएको थियो ।
अनुसन्धान पश्चात ठेक्काको मूल्याङ्‍कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्ने विभागिय प्रमुख बोगटी सहित पाँच जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ आरोपपत्र दायर गरिएको हो ।