मुआब्जा बिबादले नौबिसे-नागढुंगा सुरुङ मार्ग निर्माणमा अवरोध

धादिङ- निर्माणाधीन अवस्थामा रहेको नौविसे नागढुङ्गा सुरुङ्गमार्गमा मुआब्जा विवादका कारण अझै घरहरु हटाउन नसक्दा आयोजनाको काममा समस्या उत्पन्न भएको छ ।

आयोजनाले अधिग्रहण गरी निर्माण सामाग्री उत्पादन गर्ने उपकरणहरु राखिएको स्थान वरपरका घरहरुको सरकारले मुआब्जा दिने वा नदिने भन्ने विषयको टुङ्गो लगाउन नसक्दा यस्तो अवस्था आएको हो ।

जस्का कारण आयोजनाको काममा निकै समस्या भएको भन्दै तत्काल सो समस्या समाधानका लागि सम्वन्धित सरोकारवाला निकायसँग आयोजनाले आग्रह गरेको छ ।

सरकारको प्रमुख प्राथामीकतामा रहेको आयोजनहरु मध्य प्रमुख मानिएको नागढुङ्ग नौविसे सिस्नेखोला सुरुङ्ग मार्गमा जग्गाको विवाद अझै टुङ्गमा पुग्न नसक्दा समस्या उत्पन्न भएको छ ।

खास गरी खत्रीपौवास्थित आयोजनाले अधिग्रहण गरेको स्थान भित्र नै रहेका पाँच ओटा घर र उक्त घर भएको जमिनको सरकारले मुआब्जा दिने वा नदिने भन्ने विषयको निर्णय भएको छैन ।

स्थानीयहरुको लालपुर्जा भएको जमिन सडकको भन्दै सरकाले मुआब्जा दिन रोक लागएपछि काम अगाडि बढाउन नसकिएको हो ।
स्थानीयहरुको विरोधका कारण पटक पटक काममा अवरोध आउन थालेपछि तत्काल समस्या समाधानका लागि सरोकारवालालाई आयोजनाले आग्रह समेत गरेको छ ।

यसो त सो स्थानको स्थलगत निरिक्षण गरी आवाश्यक काम कारवाही अगाडि बढाउनका लागि प्रमुख जिल्ला अधिकारी सहतिको टोलीले सो क्षेत्रमा पुगी स्थलगत अनुगमनसमेत गरेको छ ।

सो जमिन सडकको हो वा ब्यक्तिगत हो भन्ने विषयमा टुङ्गो नलागेकोले यसको निर्णय कसरी गर्ने भन्ने विषयमा अन्यौल भएको हो । उक्त स्थानमा अझै मानिसहरु बस्दै आएका र आयोजनाले विष्फोटक पदार्थ लगाएत अन्य अत्यावश्यक सामानहरु राखेकोले पनि मानिसहरुको बसोवास हटाउनुपर्ने आयोजनाको अडान छ ।