नियम उल्लंघन गर्दा १४ वटा बाणिज्य बैंक कारवाहीमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमासमा १४ बैंकहरुलाई कारवाही गरेको बताएका छन् ।

कारवाहीमा पर्नेमा प्रभु, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, हिमालयन, नेपाल एसबिआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, सेन्चुरी, स्ट्याण्डर्ड चार्टर्ड र एनएमबि बैंक रहेका छन् । यी मध्ये नेपाल बैंक २ पटक राष्ट्र बैंकको सुपरिवेक्षणिय कारवाहिहमा परेको छ । विभागका अनुसार पहिलो त्रैमासमा कुनै पनि वाणिज्य बैंक कारवाहीमा परेका थिएना भने दोस्रो त्रैमास अर्थात् असोज मसान्तदेखि पुस मसान्तसम्म १४ वटा वाणिज्य बैंकले तोकिएको नियम मिचेर कारोबार गर्दा कारवाहीमा परेका छन् ।

प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा राष्ट्र बैंकले १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराएको छ भने नेपाल बैंकले संस्थागत मुद्दती निक्षेपमा तोकिएको नियम विपरित गरी बढी ब्याज दिएको थियो ।

यसैगरी, ब्याजदर नीति उल्लंघन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नबिल, हिमालयन, नेपाल एसबिआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा र सेन्चुरी बैंक रहेका छन् भने यी बैंकहरुले ३ महिनासम्म संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन गर्न नपाउने नियम पनि उल्लंघन गरेका हुन् ।

राष्ट्र बैंकले यी सबै बैंकहरुको सीइओलाई बोलाएर सचेत गराएको थियो । यसरी नियम उल्लंघन गरेको राष्ट्र बैंकले औल्याएपछि यी बैंकहरुले दोस्रो पटक यस्तो गल्ती नगर्ने प्रतिवद्धता उल्लेख गरिएको छ ।