दुई वर्षमा १२ प्रतिशत मात्र काम भएको

काठमार्डौ । तनहुँको भानु नगरपालिका १३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । २०७६ कात्तिक ४ गते ठेक्का लागेको सडकको भौतिक प्रगति २ वर्षमा १२ प्रतिशत मात्रै बनेको छ ।

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किलमिटर खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने कामका लागि काठमार्डौ शङ्करमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले बताएका छन् ।

मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले २३ करोड २ लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई ६ करोड ९१ लाख ८५ हजार निकासा गरिसकेको छ । कार्यालयका अनुसार हालसम्म १२ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएकोबताएका छ । समयमा काम सम्पन्न नभएपछि आगामी असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जानकारी दिएको छ ।

२०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्र्याक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको पहलमा अलपत्र बनेको उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति भएको छ । निर्माण व्यवसायी हालै बसेको बैठकले उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति गरेको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेशकुमार घिमिरे, इन्जिनियर अमरेन्द्र यादव, धनमाया मिश्र लगायतको उपस्थितिमा भएको बैठकमा निर्माण व्यवसायी डिबी कार्कीले निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ठेक्का सम्झौतामा भएअनुसार जनशक्ति ल्याउने, आवश्यक उपकरण परिचालन गरी कार्य अगाडि बढाउने, अबको निर्माण सुरु गरेपछि कार्य प्रगतिका बारेमा निर्माण व्यवसायीले पूर्वाधार कार्यालयलाई मासिक रुपमा जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्नका लागि पूर्वाधार कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी लिएका छन् ।

सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरबाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको गुरुङले बताएका हुन । निर्माण व्यवसायीले हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको बताएको छ, केही काम भने नभएको बताए ।