आपत्कालीन राहत कोष स्थापना

काठमार्डौ । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेको छ । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा सुवेदीले राहत कोष स्थापना गरेको बताएको छ ।

शनिबार भरतपुर महानगरपालिका ११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेको छ । हरेक कोषमा सुवेदीले ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

भरतपुर २ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गरेको थियो । टोलभित्र आइपर्ने विपतिमा तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम उपयोग गर्ने गरी कोष स्थापना गरिएको सभाषद सुवेदीले बताएको हो ।

टोलभित्रका सदस्यलाई विपद्मा तत्काल आर्थिक सहयोग जुटाएपछि सो रकम कोषमै फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । तर, गरिब तथा विपन्नले भने रकम फिर्ता गर्नुपर्ने छैन । गत वर्षबाट सुरु गरिएको राहत कोषको प्रभावकारिता बढेपछि सुवेदीले यसलाई निरन्तरता दिएको बताएको छ । अन्य टोल विकास संस्थामा पनि यस्ता कोष स्थापना गर्ने र गरिब तथा विपन्न नागरिकलाई सहयोग गरिने जानकारी दिएको छ ।

इन्द्रेणीटोलका अध्यक्ष मिलनकुमार लामाले टोलमा गरिने सहयोगले स्थानीयवासीलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरेका छनु । कोषमा हरेक सदस्यले स्वेच्छाले मासिक रु १०० बचत गरेर कोषको रकम वृद्धि गर्न सक्ने प्रदेश निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जानकारी दिएको छ ।