बालुवाटारमा प्रधानमन्त्री देउवा र चिनियाँ मन्त्री वाङको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिइएको छ ।

नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायतको विषयमा वार्ता भएको मन्त्री खड्काले बताइएको छ ।

परराष्ट्रमन्त्री डा खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री वाङ शुक्रबार काठमाडौँ आइपुग्नुभएको हो । दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी ९ वटा समझदारीमा हस्ताक्षर पनि गर्नुभएको छ ।

नेपालको चीनसँग हुने विभिन्न व्यापार व्यबसाय घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अध्ययन कोभिड १९ का कारण पूरा हुन नसकेको अवस्थामा सहजता बनाउने लगायतको विषयमा पनि दुवै पक्षबीच छलफल भएको जानकारी छ । सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ ।