बेनी बजारमा संरक्षण निमार्णकार्य रातमा पनि

काठमाडौँ । म्याग्दी जिल्लाको बेनीबजार क्षेत्रमा बाढी र कटानको उच्च जोखिम भएकोले सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गर्न थालिएको छ । नदीमा पानीको सतह बढ्नुअघि नै किनारमा पक्की पर्खाललगायत संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा फरकफरक तीन समूहमा मजदुर र उपकरण परिचालन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्ध सुरु गरेको थियो । परियोजना प्रमुख विदुरमान श्रेष्ठले सुरु भएको काम बर्खा नलाग्दै सक्ने गरी रातमा पनि नदी किनारमा पर्खाल निर्माणको काम गरिएको बताए ।

बजेटको स्रोत सुनिचित र ठेक्का प्रक्रिया पूरा गर्न ६ महिना लाग्यो । र सम्झौता लगत्तै सुरु भएको कामलाई पूर्णता दिएर बजारलाई सुरक्षित र लगानीलाई उपलब्धिमूलक बनाउन तीन सिफ्टमा काम गरेको प्रमुख श्रेष्ठले बताएका छन् । २२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो सातामा ९ करोड ४५ लाखको लागमा रौताह–बिएनबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेर, कालीपुलमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम करिब ४० प्रतिशत सकिएको बताए ।

४ मिटर फराकिलो जगदेखि २ मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र ५ मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको छ । जगमा आसिसी गरिने र कम्पोजिट पर्खालको ५ मिटर भागमा ग्यावियन पर्खाल बनाइने, सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकै कालीगण्डकीको किनारमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्न सम्भव नभएकाले त्यहाँ बर्खाको बाढी नियन्त्रणका लागि वैकल्पिक अस्थायी संरचना बनाउने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताएका छन् ।

कालीगण्डकीको डाइभर्सन गराउन लाग्दा विवाद भएकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध निर्माण गर्न नसकिएपछि बर्खाको बाढी रोक्न अस्थायी संरचनाको विकल्प प्रस्ताव गरेको बताए । जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा रहेको बेनी बजारमा १ हजारभन्दा बढी घरधुरीको बसोबास छन् ।

परियोजनाले गत वर्ष म्याग्दी बेनीतर्फ ३ करोड र पर्वत बेनीतर्फ २ करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो । यसपाली पर्वततर्फ बगरफाँटमा २० मिटर र बारीबेनीमा ४२ मिटर कम्पोजिट पर्खाल निर्माणको काम भइरहेको परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले बताए ।