गैरआवासीय नेपालीलाई नेपाल आवागमनमा सहजीकरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घका मागप्रति सरकार संवेदनशील रहेको बताएको छ । गैरआवासीय नेपाली सङ्घको १०औँ विश्व सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई नेपाल आवागमनमा सहजीकरण, लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैँ सकारात्मक रहेको बताएका छन् ।

मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारहरूको निर्माण हुन आवश्यक हुँदा वर्तमान अवस्थामा पनि मुलुकमा ठूला विद्युत् आयोजना, सडक, टनेल लगायतका परियोजनाहरू कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको खाँचो रहेको भन्दै , समस्यालाई समाधान गर्न गैरआवासीय नेपाली सङ्घले राम्रो भूमिका निर्वाह गर्नसक्छ भन्ने कुरामा सरकार विश्वस्त रहेको देउवाले बताएका छन् ।

देउवाले नेपालको संविधानले अर्थ, उद्योग र वाणिज्य नीतिअन्तर्गत गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने कुरालाई उल्लेख गरेको छ । गैरआवासीय नेपालीहरूको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको काममा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरिरहेको बताएको छ । नीति तथा नियमहरूलाई आगामी दिनमा सुधार गर्दै गैरआवासीय नेपालीहरूले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने मन्त्री देउवाले बाताएको छ ।

सङ्घले २०७२ को महाभूकम्प र कोभिडको महामारीका बेला नेपाल र नेपालीलाई गरेको सहयोगको उहाँले सराहना गरेको छ । प्रधानमन्त्री देउवाले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्नसमेत सङ्घले उपयोगी रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गैरआवासीय नेपालीहरूको जायज माग पूरा गर्नका लागि नेपालका सबै राजनीतिक दल एक ठाउँमा रहँदै आएको जानकारी दिएको छ ।

काँग्रेस महामन्त्री गगनकुमार थापाले विदेशमा बसेका नेपालीहरूको ससानो पुँजीलाई नेपाल भित्रायर गाउँगाउँमा साना व्यवसाय तथा उद्यमशीलताको विकास गर्ने नीतिको खाँचो रहेको भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप र क्षमतालाई नेपालको समृद्धिमा लगाउन आग्रह समेत गरेको छ ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गैरआवासीय नेपालीको लगानी भित्रयाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने तथा कुमार पन्तले विदेशमा रहेका नेपालीहरू नेपाल र नेपालीको समृद्धिका लागि हातेमालो गर्न तयार रहेको बताएको छ ।

नेपालमा लगानी गर्नका लागि सङ्घले १० अर्बको कोष स्थापना गर्न लागिरहेको बताउँदै कोष स्थापनाका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था तत्काल गरिदिन नेपाल सरकारसँग माग गरेको बाएको छ । विदेशमा बसेका नेपालीबाट भित्रिएका रेमिटेन्सबाट नेपालको आर्थिक विकासमा ठूलो टेवा पुगेको कुरा उल्लेख गर्दै रोजगारीका लागि विदेशिने नेपाली कामदारको उच्च मूल्याङ्कन हुनुपर्ने, उनीहरूलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने कुरा पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा आगामी दिनमा सङ्घ सधैँ नेपाल र नेपालीलाई आइपर्ने जुनसुकै विपत्तिमा पनि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । संविधानमा भएको नागरिकताको विषयलाई सङ्घीय कानुन निर्माण गरी छिटोभन्दा छिटो गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।