ढिस्कोले पुरेर दुई मजद्को मृत्यु चौबीस घण्टापछि उठाइयो शव

काठमाडौँ । चाँगुनारायण नगरपालिका ९ स्थित जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ । ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका मजदुरको शव २४ घण्टापछि मात्रै उठाइएको छ ।

जग्गा प्लटिङ गर्ने चम्पा कुस्माको लापरवाहीका कारण भएको घटनामा परी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका,३ घर भई भक्तपुर जगाती बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ घर भएका बनेपा बस्ने ३२ वर्षीय चतुरमान तामाङको शुक्रबार अपरान्ह् ५ बजे ढिस्कोले पुरिँदा मृत्यु भएको जानकारी छ । पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै हिजोदेखि स्थानीय र पीडितका आफन्तले शव उठाउन नदिएपछि आज दिनभर घटनास्थलमै शव रहेको थियो ।

मृतक दुई मजदुरका परिवारलाई जनही १५ लाखका दरले ३० लाख क्षतिपूर्ति दिने सहमति भएको वडाध्यक्ष त्यातले जानकारी दिएका हुन । उनका अनुसार मृतककी पत्नी र बच्चाका लागि एक परिवारलाई १५ लाखका दरले क्षतिपूर्ति दिने र शव उठाउने सहमति भएको बताए । नगर प्रमुख सोमप्रसाद मिश्रले घटनाका पीडित पक्षको मागको सुनुवाइ गर्न र अवस्थालाई सामान्य बनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी उपरीक्षक शिव श्रेष्ठलाई आग्रह गरेपछि छलफलको वातावरण बनेको बताइएका छन् ।

दुई मजदुरको मृत्यु हुँदा क्षतिपूर्तिबारे बेवास्ता गर्दै हिजै साँझ प्रहरीले शव उठाउन खोजेपछि स्थानीय र पीडितका आफन्तले नाराबाजी गरेरी अवरोध गरेको हुदा प्रहरीले २४ घण्टासम्म मृतकको शव उठाउन सकेको थिएन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटाएपछि यहाँका बासिन्दा आक्रोशित बनेको स्थानीय राजेन्द्र थापाले जानकारी दिइएका छन् ।

वडाध्यक्ष गणेश त्यातको नेतृत्वमा आज भएको दुई पक्षबीचको छलफल सहमतिमा पुगेपछि शव उठाएर परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको महानगरीय प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिइएका छन् । घटनाबारे जग्गा प्लटिङ गर्ने चम्पा कुस्मा माथी थप अनुसन्धान अगाडि बढाएको प्रहरी केसीले बताइएका छन् ।