स्थानीय निर्वाचनमा पाटी विजय भए, भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको बताइएका छन् ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह समेत गरेका छन् । वैशाख ३० देखि हुने स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने अध्यक्ष लिङ्देनले धारणा व्यक्त गरेका छन् ।