काठमाडौँमा स्थापीतले मेयरमा उम्मेदवारी दर्ता , उपमेयरमा सुनिता

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागी काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए । उनी पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीत भएका थिए । प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित समेत भएका थिए ।

उपमेयरकी उम्मेदवार डङ्गोल सन् २०११ की मिस नेवा हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डङ्गोललाई उपमेयर बनाउने निर्णय गरेको थियो । डङ्गोलले स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी थिइन् । उनीले काठमाडौँलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता समेत जनाएकी छन् ।