स्थानीय बासिन्दाका लागि अप्पर सोलुको आइपिओ खुला

काठमाडौँ । अप्पर सोलु हाइडो इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । उक्त कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओको बिक्री खुला गरेको छ ।

आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविसका बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको जानकारी गराएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागीमा कम्पनिमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।