नक्कली प्रमाणपत्र पेस गर्दा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ । पाँचथर जिल्लामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग आयोगले पाँचथरको तुम्वेबा गाउँपालिका ४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक करार बिरजुकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेको जानकारी गराएको छ ।

गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेस गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको भण्डारीले जानकारी गराएको छ ।