मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा सिसी क्यामेरा को प्रबन्ध गरेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा धेरै मतैक्य छ ।

मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ सिसी क्यामेराको प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको छ ।

आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । भोलिसम्म सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसक्ने बताएका छन् । कूल ३५० पालिकामा यसअघि नै सिसी क्यामेरा जडान भइसकेको आयोगले जनकारी दिइएको छ ।

आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । सिसी क्यमराबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले यसअघि नै कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन रु भन्ने प्रश्न उत्पन्न भएको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको संख्या उल्लेख्य रहेका छन् । आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको संख्या ७६ हजार १६२ रहेका छन् । सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार रहेका छन् । २१ देखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरी कुल ३५ हजार २५८ उम्मेदवार छन् ।

५१ देखि ६५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ३७ हजार ५४ छ । सो उमेर समूहमा २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला छन् । यस्तै ६५ वर्ष माथिका ४ हजार ३५० पुरुष र १ हजार १७७ महिला गरी ५ हजार ५२७ उम्मेदवार रहेका छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कूल १ लाख ४५ हजार १० उम्मेदवार छन् ।

नगरपालिका प्रमुखमा ३ हजार २३८, उपप्रमुखमा १ हजार ९६४, गाउँपालिका अध्यक्षमा ३ हजार ९२ र उपाध्यक्षमा २ हजार १६३ जनाको उम्मेदवारी कायम भएको छ । वडाध्यक्षमा ३२ हजार ४९६, सदस्यमा ५३ हजार १७३, महिला सदस्यमा २५ हजार ५९९ र दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी गराएको छ ।