दुई बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको जानकारी गाराएको छ ।

मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिएका छन् । उनले सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको बताएका छन् ।

दुई बैंक एकापसमा गाभिएपछि सबैभन्दा ठूलो बैंक बन्ने भएको छ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहने बताइएको छ ।

आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कूल चुक्तापूँजी रु ३२ अर्ब ८१ करोड हुने मेगा बैंकका कम्पनीले जानकारी दिइएको छ ।