तराईका जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढ्यो

काठमाडौँ । तराईका जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप निकै बढेको छ ।

केन्द्रमा वार्षिक करिब ८ सय बिरामी आउने र तीमध्ये ५ प्रतिशतलाई आइसियु र भेन्टिलेटर आवश्यक पर्छ । सरोकारवाला निकायको बेवास्थाका कारण ती उपकरण प्रयोगविहीन भएको उक्त केन्द्रका डा हंशनारायण झाले बताएका छन् । उनका अनुसार आफूहरुले आइसियु र भेन्टिलेटर प्रयोग गर्न सक्ने भए पनि व्यस्तताका कारण आइसियु र भेन्टिलेटर चलाउन नपाएको र त्यसका लागि छट्टै जनशक्ति राख्न समितिसँग आर्थिक अभावसमेत रहेको बताए ।

जेठ महिनामा मात्रै ४० सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जाकारी दिएको छ । केन्द्रमा बिरामीको चाप बढे पनि सञ्चालन गर्ने व्यक्तिको अभावमा ती उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष उद्वव पौडेलले बताए ।

स्थानीय निकायले राम्रो सहयोग गरिरहे पनि दक्षजनशक्ति अभाव रहेको अध्यक्ष पौडेलले बताएका छन् । ती उपकरण सञ्चालनमा ल्याउन नसक्दा राख्नु र नराख्नुको कुनै अर्थ नरहेको सर्पदंशका बिरामी मानबहादुर मोक्तानले गुनासो गरेका छन् । ती उपकरण सञ्चालनमा नल्याउँदा बिरामीलाई अन्यत्रै लैजना परेको र समयमै पु¥याउन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको बताए ।

मधेश प्रदेश सरकारको सहयोगमा केन्द्रमा आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नाका साथै दुईजना एमबिबिएस चिकित्सक भएर पनि ती उपकरण सञ्चालन गर्ने व्यक्तिको अभावमा अहिले प्रयोगविहीन अवस्थामा रहेको लालबन्दी नगरपालिका, १ का वडाध्यक्ष हरिबहादुर भट्टराईले बताएका छन् ।