जनताको जीवनमा खेलबाड, तत्काल शुद्ध खानेपानी चाहियो

काठमाडौँ । एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरुले ती संस्थामा ज्ञापनपत्र बुझाउनाका साथै सयौँ उपभोक्ताको हस्ताक्षर पनि बुझाएको बताइएका छन् ।

अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्लीप्रसाद गौतम लगायतको टोलीले सोमबार जिल्ला प्रशासनमा पनि ध्यानाकर्षण गरेका हुन् । प्रजिअ रमेश ढकाललाई शुद्ध पानी खुवाउन पहल गरिदिन पनि आग्रह उनीहरुले गरेका छन् ।

गत वर्ष पनि यस्तै समस्या हुँदा प्रशासनको पहलले शुद्ध पानी खुवाउन पहल भएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि शुद्ध पानी खुवाउन उपभोक्ता समिति र नगरपालिकालाई आदेश दिएको थियो । प्रशासनलाई नियमित अनुगमन गरेर शुद्ध पानी आए नआएको प्रतिवेदन दिन भनेको थियो । तर अझै पनि सो सम्बन्धी काम नभएको अधिवक्ता उपाध्यायाले बताएका छन् । पीडित उपभोक्ताले धमिलो पानीको फोटोसहित प्रशासनमा उपस्थित भएका थिए ।

त्यस्तै आम नागरिकमा पखाला र छालासम्बन्धी रोग देखिएर परीक्षण गर्दा प्रदूषित पानीको प्रयोगले भएको भन्दै उपभोक्ता संस्थाले आम नागरिकको स्वास्थ्यमा खेलबाड गरेको पनि उपभोक्ताले आरोप लगाएका छन् । आम नागरिकको स्वास्थ्यमा आएको समस्याको जिम्मा लिने कि शुद्ध पानी खुवाउने ? गौतमले भने खानेपानीमा चरम लापरबाही भएको छ ।” वर्षौंदेखिको यो समस्या समाधानमा संस्था गैरजिम्मेवार बनेको समेत उनीहरुले आरोप लगाएका छन् । 

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको म्यादसमेत सकिएको छ । डेढ वर्ष म्याद सकिँदा पनि संस्थाले साधारणसभा गरेको छैन । बरु उपभोक्ताले पानीको समस्या र सास्तीबारे जानकारी गराउन खोज्दा धम्क्याउने काम भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

खानेपानी उपभोक्ता संस्थालाई बोलाएर गत वर्ष नगरपालिकाले पनि शुद्ध पानी खुवाउन दबाब दिएको थियो । प्रजिअ रमेश ढकालले तत्काल संस्थाका पदाधिकारीलाई झिकाएर छलफल गर्ने र निष्कर्ष निकाल्ने बताए । पानीको पाइपहरु गाडिएको छैन, कतै चुहिने स्थानमा अलपत्रै छाडिएको छ,” बानपा–४ स्थित गौरीधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले भने यहाँका वडा नंं १, २, ३ र ४ का मानिस पीडित भइरहे पनि संस्थाले जनताको जीवनमा खेलबाड गरेको छ ।